Logo
Logo

म पनि कवि भएको भए …


378
Shares

“म कवि भएको भए यतिबेला एउटा सुन्दर कविता लेख्थें…’’
त्यो बेला डायरीमा यस्तो लेखेकी रहेछु । मौसम अति गर्मीबाट बिस्तारै सेलाउँदै थियो । बिहान एक्लै डायरी र कलम बोकेर आफू पढ्ने ‘ह्वातोङ् श्र्फान् तास्वे (इष्ट चाइना नर्मल युनिभर्सिटी) को पार्क जस्तै सुन्दर चउरमा एउटा ढुङ्गाको कुर्सीमा बसेकी थिएँ । शीतल बतास चलिरहेको थियो । सेता र गुलाबी फूलका पत्रहरू माथिबाट बर्सिरहेका थिए । ससाना भँगेराहरू चिरबिर गर्दै मेरै वरिपरी नाच्दै, उफ्रिँदै थिए…। अनेक चिन्ताको बोझलाई एकछिन् बिर्सेर भए पनि आनन्द महसुस गरिरहेकी थिएँ । आहा, कति सुन्दर ठाउँ ! कति सुन्दर क्षण !

लेख्नलाई केही नयाँ कुराहरू फुरिहाल्छ कि भनेर त्यहाँ बसेकी थिएँ । त्यो बेला नियमित लेखहरू त लेखिरहेकै थिएँ, तर कवितामै त्यति हात हालेकी थिइनँ । त्यो बेलासम्म म आफूलाई कवि नै ठान्दिन थिएँ । कहिलेकाहीँ कविता लेखिहाले पनि आफँैलाई त्यो कविताजस्तो लाग्दैनथियो । अरूलाई पनि सुनाउँदिन थिएँ ।

त्यो चउरमा त्यसरी आनन्दित भएर बसिरहेको बेला कविता लेखनको यात्रामा हिँडेका आफ्ना बाङ्गाटिङ्गा बाटाहरूलाई सम्झिन थालेँ । किशोरावस्थामै छँदा भावुक भएका बेला क्रान्तिकारी कविता लेखेर साथीहरूलाई सुनाउँथेँ ।

कवितालाई नै साथीहरूका बिच जागरणको एउटा औजारका निम्ति प्रयोग गर्ने प्रयत्न गर्थेँ । तर लेखेका कुनै पनि कुरा छपाउँदिन थिएँ– अति गोप्यवादी समूहको संस्कारले त्यो दिँदैनथियो । तर लेखिसकेपछि कविता त जम्मा हुने नै भए । कतिवटा थिए, अहिले सम्झना छैन । जतिवटा भएपनि एउटा विशेष परिस्थितिमा ती सबै नष्ट हुन पुगे ।

३० को दशक तिरको कुरा हो, राजाविरुद्ध केही क्रान्तिकारीहरूले पर्चाबाजी गरेका थिए । त्यो काण्डपछि पुलिस सक्रिय हुने नै भयो । एकदिन बिहानैदेखि मलाई खतराको आभास भइरहेको थियो । र, अन्तरमनले “सुरक्षित भएर बस’’ भनिरहेको थियो ।

मेरो घरभन्दा सुरक्षित अष्टलक्ष्मीको घर हुन्छ भन्ने लाग्थ्यो । अष्टकी कान्छी बहिनी ज्यादै सहयोगी र समझदार थिइन् । मसँग भएका गोप्य र ‘खतरनाक’ मानिने सामग्रीहरू सुरक्षितसँग राख्न तिनै बहिनीलाई दिएर उता घरमा पठाएकी थिएँ ।
साथी कमलाले टाइप गरिदिएको मेरो कविताहरूको संग्रह पनि तिनै सामग्रीभित्र प¥यो । त्यो संग्र्रहको कार्बन कपी केही साथीहरू सँग भए पनि, म आफैसँग भने त्यो एक कपी मात्र थियो । किशोरावस्थाको क्रान्तिकारी भावुकता लेखिएका कविता थिए ती ।

तर, ती “खतरनाक’’ सामग्री अष्टको घरमा पुगेकै राती गोपाल शाक्यलाई खोज्दै अष्टलक्ष्मीकै घरमा पुलिसहरू पसे । गोपाल अष्टका काकाका छोरा हुन् । एक्कासि घरमा पुलिस पस्दा बहिनीहरूले हतारमा दिदीका सबै गोप्य सामग्रीहरू पुलिसको आँखा छल्दै चोक भित्रको इनारमा खसालिदिएछन् ।

ती कविताहरू पनि त्यसैमा परे । त्यो बेलाको निम्ति त्यसो गर्नु नै बुध्दिमानी हुन्थ्यो । अझ दिदीमाथि शंका नहोस् भनेर धनी बाउकी छोरीलाई सुहाउने शृङ्गार पनि गरिदिएका रहेछन् अष्टलक्ष्मीलाई ।

वास्तवमा अष्टलाई होइन, गोपाल शाक्य चाहिँ त्यो घरमा कतै लुकेर बसेका छन् कि भन्ने पुलिसको आशंका रहेछ । पर्चाकाण्डमा प्रदीप नेपाल, माधव पौडेलआदि सँगै गोपाल शाक्य पनि आरोपित थिए र पत्र–पत्रिकामा समेत उनीहरूको नाम छापिइसकेको थियो । आफ्नो सन्तान जस्तै प्रिय कविताहरूको संग्रह पनि इनारमा खसेको कुराले मेरो चित्त दुखेको थियो । त्यसपछि निकै लामो समय कविता नै लेखिनँ ।

चीनमा दुःखसुख गरी बसेको चार वर्ष पुरा भइसकेकोले त्यो अन्तिम वर्ष चीनबाट सिक्नुपर्ने र गर्नुपर्ने बाँकी काम पुरा गर्ने योजना बनाउन थालेका थियौँ । छोरी चार वर्षकी हुँदा ल्याएको, त्यो अगस्टमा आठ वर्ष पुग्दै थिई ।

चीनमा उसको अन्तिम जन्मदिन हुने भएकोले यसपाली उसका र हाम्रा साथीहरूलाई समेत बोलाएर रूबर्थडे’ मनाइदिने योजना बनायौँ । छोरी पनि खुसी भई । उसकै कक्षामा उही दिन जन्मदिन पर्ने साथी सन् छि–छि र एक दुईदिनको मात्र फरक पर्ने अर्की एकजनालाई समेत सँगै राखेर केक काटेर ‘बर्थ डे’ मनाउन पाउँदा बच्चाहरू सबै रमाए ।

हातभरी गिफ्टहरू पनि पाएकाले छोरी सबैभन्दा खुसी देखिन्थी । हाम्रो मनमा पनि सन्तोष भयो । बच्चाको खुसी नै हाम्रो खुसी थियो ।

मेरो पढाईको अन्तिम सेसनमा सरोजले मसँग भनेको एउटा कुरा म बिर्सिन्नँ । हाम्रै मित्र रुसमा पढ्ने जङगब चौहान रुसमा पढेर रुसी साहित्यलाई नेपालमा उल्था गर्न थालिसकेका थिए । सरोजले यही कुरालाई सम्झिँदै भने– “तिमीले पनि चिनियाँ साहित्यलाई नेपालीमा उल्था गर्न सक्ने बन्नुपर्छ ।’’ त्यतिबेला त आँट पनि पलाएको थियो ।

अहिलेजस्तो चिनियाँ भाषा पढ्ने मौका पाएका नेपाली विद्यार्थी धेरै थिएनन् । चीनमा पढिरहेका धेरैजसो विद्यार्थीहरू प्राविधिक विषय पढ्दै थिए– प्रायः डाक्टर, इन्जिनियर हुने नै धेरै थिए । भाषा साहित्य नै पढ्नेहरू त झनै कम हुने भए ।

म त अनेक संयोगले र आफू विज्ञानको विद्यार्थी नभएको कारणले भाषा साहित्यमा पसेकी थिएँ । मेरो निम्ति त्यही नै सुहाउने विषय पनि थियो । तर रहर पुग्ने गरी, पढाईको प्यास् मेटिने गरी पढ्न सकिनँ ।

एक त उमेर गइसकेपछि पढ्न थालेको, त्यहाँमाथि पारिवारिक जीवन पनि । कहिले सरोजको होस्टेल र कहिले आफ्नै होस्टलको बिच ओहोरदोहोर गरिरहनु पर्ने ! छोरीलाई स्कूल पु¥याएर बल्ल आफ्नो कक्षामा पुग्दा ढिलो भएर कक्षामा पस्नै लाज लागेर कति क्लासहरू त्यतिक्कै छोड्नुपर्ने ।

जीवनमा कसैलाई त्यतिकै मौका आइरहन्छन् भने कसैलाई धेरै संघर्ष गर्नुपर्छ । धेरै संघर्षपछि प्राप्त भएको मौका थियो त्यो– चीनको राष्ट्रिय स्तरमै नाम चलेको सुन्दर र विशाल युनिभर्सिटीमा म एक्ली नेपाली विद्यार्थी थिएँ । त्यसैले पनि मप्रति विशेष व्यवहार पनि थियो । मैले धेरै ठाउँमा घुम्न जाने मौका पनि पाएकी थिएँ । त्यसैले कृतज्ञ छु युनिभर्सिटीप्रति पनि । तर जति गहिरिएर विद्या आर्जन गर्नुपर्ने हो, त्यो भने सकिनँ ।

अहिले पनि विभिन्न प्राज्ञिक, साहित्यिक कार्यक्रममा भेट भएका चिनियाँ विद्वानहरूले म पढेको युनिभर्सिटीको नाम लिँदा खुसी लाग्छ । आफू पनि ‘कवि हुँ’ भन्न नपाएको समय भएकोले त्यो बेला चिनियाँ कविहरूसँग भने भेटघाट हुन पाएन । त्यो कुरा बेस्सरी खट्किन्छ ।

चीनबाट फर्किएको २५ वर्षपछि बल्ल फेरि चीन जाने मौका पाएकी थिएँ । त्यो बेला भने प्रज्ञा–प्रतिष्ठानको परिषद सदस्यको रुपमा कुलपति कवि वैरागी काइँला समेतको टोलीमा गएकी थिएँ र कविकै रूपमा आफ्नो परिचय दिन पाएँ ।

प्रतिक्रिया दिनुहोस्