कास्की । सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।
यससँगै आजै आदेश आउन सक्ने बताइएको छ । आजै आदेश आउने सम्भावना रहेकाले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले गरेका छन । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङमाथी थुनछेक बहस भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।