धनुषा । मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।
मधेस प्रदेशसभाको आजको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो । उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाले विधेयक प्रस्तुत गरेका थिए । मन्त्री मियाले विधेयकका विभिन्न पक्षहरूको चर्चा गर्दै यसले मधेसको पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने र पर्यटकीयस्थलको प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।
विधेयकमा मधेस प्रदेशको पर्यटकीयस्थललाई विश्वसामु प्रस्तुत गर्न र स्थायीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने रणनीति समावेश गरिएको उनको भनाइ छ । यसका साथै पर्यटनका लागि नयाँ संरचनात्मक ढाँचा निर्माण, मार्गदर्शन नियमावलीको निर्माण र प्रचारप्रसार कार्यक्रम राखिएको छ ।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले, ‘प्रदेश बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभएको थियो ।’ यस विधेयकको उद्देश्य प्रदेशको कृषि क्षेत्रलाई थप समृद्ध बनाउन र कृषकको उत्पादन क्षमता वृद्धि गर्ने रहेको उनको भनाइ थियो । मधेस प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।