Logo
Logo

समस्या अरूमा होइन, प्रचण्ड आफैँमा छ


शरद् रिजाल

63
Shares

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैंटौं पूर्ण बैठक काठमाडौंमा बस्यो । आइतबारदेखि सुरु भएको बैठक मंगलबारसम्म चल्यो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रचण्डले आइतबार बैठकमा पार्टीमा अनकौं गलत प्रवृत्ति र संकट बढेको जनाउँदै रूपान्तरणको आवश्यकता औँल्याएका छन् । उनले नेताहरू आर्थिक अपारदर्शितामा लिप्त भएको भन्दै फागुन १ गतेसम्म सम्पत्ति विवरण बुझाउन समेत आफ्नो लिखित प्रतिवेदनमार्फत निर्देशित गरेका छन् ।

सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको माओवादी केन्द्रीय समितिको बैठकमा प्रचण्डले पार्टीमा समस्या देखापरेको बताउँदै त्यसलाई निरूपण गर्न नेताकार्यकर्तालाई आह्वान गरेका थिए । प्रचण्डले विगतमा पार्टीका कतिपय घातक निर्णयमा समेत आफ्ना पुराना सहकर्मीलाई दोष लगाउँदै आफ्नो कमजोरी अस्वीकार गर्ने गरेको दृष्टान्त छ ।

उनी आफैँले निम्त्याएका क्षतिको कहिल्यै पनि जिम्मेवारीबोध गर्दैनन् । हरेक सकारात्मक कार्यको जस चाहिँ आफूले लिने र क्षतिजन्य कामको दोषारोपण अरूमाथि गर्ने प्रचण्ड कार्यशैली नै हो । उनले केही समय अघिदेखि आफ्नो पार्टी पुराना सांसदवादी दल कांग्रेस एमाले जस्तै बिग्रिएको बताउँदै आएका छन् ।

पछिल्लो समय संसदीय अंकगणितले कमजोर बने पनि दुई ठूला दल कांग्रेस एमालेलाई उपयोग गर्दै सरकारमा टिकेका उनी बाहिरिएपछि भने तिनै दल जस्तै बनेको भन्दै सच्चिन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

यद्यपि, प्रचण्डले पार्टी बिग्रिनुमा आफू र आफ्नो नेतृत्वको पनि कमजोरी रहेको कुरा स्वीकार गरेका छैनन् । र, त्यसको विकल्प दिनसमेत हालसम्मै तयार भएका छैनन् । २०५२ सालमा जनयुद्ध सुरु गरेयता २०६३ सालसम्म आउँदा प्रचण्डमाथि आम जनताको आशा र अपेक्षा निकै थियो । उनी शान्ति प्रक्रियामा आएपछि जनताले मत मार्फत प्रचण्डप्रतिको अपेक्षा प्रकट गरेका थिए ।

२०६४को निर्वाचनमा करिब दुई तिहाइ नजिकको मत नेपाली जनताले उनी र उनको दललाई दिएकै हुन् । तर, त्यसलाई जनताको हितमा उपयोग गर्नुको साटो प्रचण्डको आफ्नै दम्भ र अपरिपक्व संसदीय राजनीतिले आशातीत उपलब्धि हासिल हुन सकेन । पार्टी र सरकार दुबैमा निषेधकारी प्रवृत्ति अंगीकार गरेपछि सुरु भएको उनको दलको ओरालो यात्रा अहिले पनि तीव्र गतिमा जारी छ ।

सरकारमा रहँदा बिचौलिया र स्वार्थ समूहको घेराभित्र रहने प्रचण्डलाई सरकार छाडेपछि मात्रै पार्टी र कार्यकर्ताको औधी माया लाग्ने गर्दछ । उनी आफैँ सरकारमा रहँदा पारिवारिक घेरा र स्वार्थ समूहको चंगुलमा परेर नेता कार्यकर्तालाई बेवास्ता गरेको विषय छर्लंग छ । पारिवारिक मोहबाट मुक्त हुन नसकेका उनी आफैँ राज्यका कैयौँ ठेक्का अलपत्र पारी कालोसूचीमा परेका विवादास्पद ठेकेदारको घरमा बस्ने गर्छन् । आफ्ना छोरी ज्वाइँ, भाइ भतिजा मोहले अवसर जति सबै उनैलाई दिलाउँदै आएका छन् । उनको कमजोरी नै परिवारप्रतिको अतिरिक्त मोह हो ।

प्रचण्डले आफैँले निम्त्याएका क्षतिको कहिल्यै पनि जिम्मेवारीबोध गर्दैनन् । हरेक सकारात्मक कार्यको जस चाहिँ आफूले लिने र क्षतिजन्य कामको दोषारोपण अरूमाथि गर्ने प्रचण्ड कार्यशैली नै हो । उनले केही समय अघिदेखि आफ्नो पार्टी पुराना सांसदवादी दल कांग्रेस एमाले जस्तै बिग्रिएको बताउँदै आएका छन् ।

शान्ति प्रक्रिया यता पार्टीको ओरालो यात्रा कायम रहे पनि प्रचण्ड आफूलाई झनै निर्विकल्प ठान्दै आएका छन् । आफू पछिको उत्तराधिकारी पार्टीमा अहिलेसम्म कायम हुन दिएका छैनन् । नेतृत्व चयनमा लोकतान्त्रिक विधि तय हुन नसक्दा पार्टीको भविष्य संकटोन्मुख छ । सम्भावित नेतृत्वका दाबेदार नेताहरू प्रचण्डको यस्तै प्रवृत्तिले सबै अलग भइसकेका छन् ।

पार्टीमा कसैले नेतृत्वमाथि प्रश्न उठायो भने अनकौं लाञ्छना लगाएर बाहिरिन बाध्य पार्ने उनको पुरानै प्रवृत्ति हो । पुराना सहकर्मी सबै उनको यही एकलौटी र निषेधकारी प्रवृत्तिबाट आजित भएर अलग भएका हुन् ।

स्मरणीय के छ भने, पार्टीमा व्याप्त हरेक आन्तरिक समस्याको समाधान गर्ने प्रचण्डको बाह्य प्रयत्न आजपर्यन्त जारी छ । पार्टीमा कसैले आफूविरुद्ध विधि र पद्धतिको विषय उठान गरेमा उनले त्यसको समाधान बाह्य तवरले खोज्छन् । पार्टी कमिटीमा अंकगणितीयरुपमा बहुमत पुर्याउन हरसम्भव प्रयत्न अवलम्बन गरेर त्यसको हल गर्ने गर्छन् ।

विगतमा पार्टीभित्र मोहन वैद्य समूहबाट चेपुवामा पर्ने स्थिति देखिएपछि उनले नारायणकाजी श्रेष्ठको समूहलाई भित्र्याउँदै केन्द्रीय समितिमा आफू बलियो बनेर अरूलाई उपेक्षा गरेका थिए । अहिले फेरि उपमहासचिव जनार्दन शर्माले पार्टीलाई जीवन्त राख्न नेतृत्वको चयनका विभिन्न विकल्प प्रस्तुत गर्दा नेत्रविक्रम चन्द विप्लव र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ ल्याएर जनार्दनलाई कमजोर पार्न उद्यत देखिएका छन् । समस्या उनी र उनको नेतृत्वमा छ तर सधैँ प्रचण्डले दोष अरूमाथि थोपर्ने गर्छन् । पार्टी र नेता कार्यकर्ताको चिन्ताजनक अवस्था उनलाई सरकार छाड्दा मात्रै देखिने गर्छ ।

जनयुद्धमा साथ दिएका हजारौँ कार्यकर्ता अहिले पनि कष्टप्रद जीवन बिताउन विवश छन् । सहिद परिवार, बेपत्ता, घाइते र अपांगको अवस्था दर्दनाक छन् । कैयौँ पूर्णकालीन नेता कार्यकर्ता रोजीरोटीका लागि विदेशमा भौतारिन बाध्य छन् । तर, उनले यी यावत समस्या समाधान गर्ने पहल सरकारको तीन पटक नेतृत्व गर्दा कहिल्यै गरेनन् । जब सरकारबाट बाहिरिन्छन् तब उनलाई यी यावत विषयको बल्ल हेक्का हुन्छ र बरबराहट गर्न थाल्छन् ।

अहिले सरकार गुमाएपछि केही सकारात्मक काम देखाएर नेता कार्यकर्ताको सहानुभूति बटुल्ने प्रयत्न प्रचण्डले गरेका छन् । उनले यही सहानुभूति बटुलेरै अझै केही अवधि पार्टी नेतृत्वमा टिकिरहने र मौका मिले पुनः सरकारमै जाने अभिलाषा प्रकट गरिरहेका छन् ।

सर्वहारा र श्रमजीवीको पक्षमा दश वर्षे जनयुद्ध लडेको भन्दै त्यसको गौरबगाथा गाउने प्रचण्डले सरकारमा रहँदा ती वर्गले प्रत्यक्ष अनुभूत गर्ने के काम गरे ? अहिले यो प्रश्न सबैभन्दा बढी माओवादी नेता कार्यकर्तामाथि उठ्दै आएको छ ।

सरकारमा होस् या बाहिर यी समस्याको निराकरणमा कहिल्यै गम्भीरतापूर्वक ध्यान नदिएका प्रचण्ड‘मेरो गोरुको बाह्रै टक्का’ प्रवृत्ति अपनाउँदै पार्टीमा अझै आफ्नो नेतृत्व जोगाउने दाउपेचमा सक्रियतापूर्वक लागेका छन् ।

प्रचण्ड लगायतका पुराना नेताहरूको अक्षमताका कारण सर्वत्र निराशा व्याप्त छ । सामाजिक सञ्जालमा शीर्ष नेता विरोधी आक्रामक अभिव्यक्तिले उनीहरूप्रतिको असन्तुष्टि दर्साउँछ । चौतर्फी निराशाले आजित भएका जनताले विकल्प ठानेका दल झनै सन्दिग्ध देखिएपछि निराशाले थप सीमा नाघेको छ ।

युवा राजनीतिबाटै विरक्तिएर आक्रोशित हुँदै मुलुक छाड्ने अवस्थामा पुगेका छन् । नेपाली राजनीतिमा आशा पैदा गर्न नसकिए बढ्दो निराशाले मुलुकमा अर्को विकराल अवस्था निम्तिने खतरा छ ।

तथापि प्रचण्ड भने यी समस्या गौण ठानी पार्टी र सरकारको नेतृत्वलाई नै पथमिकता दिइरहेका छन् । उनी अझैँ पनि आफूलाई केन्द्रमा राख्दै आफू बेगर पार्टी नै नचल्ने ‘हुटिट्याउले आकाश थाम्ने’ शैली जसरी अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्