Logo
Logo

प्रहरीसहित तीन जनामा कोरोना, प्रहरीको सञ्चार कक्ष सिलबन्दी


- दृष्टि न्युज/संवाददाता

0
Shares

भक्तपुर, ४ असार । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो ।
चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
सञ्चार कक्षलाई सिल गरेको बताउँदै उनले भने, ‘सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको क्वारेन्टिनमा राखेका छौँ, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौँ ।’
क्वारेन्टिनमा राखेकाको आज स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइने र सङ्क्रमितको परिवारको पनि स्वाब संकलन गरिने भएको छ । प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पिसिआर गरिएकोमा बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआरको नतिजामा ती पुरुषलाई संक्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गर्ने तयारी गरिएको उनले बताए ।
त्यस्तै गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्