Logo
Logo

लालीगुराँस नगरमा सरर…नगरबस


एविन्द्र मादेन लिम्बू

5.5k
Shares

तेह्रथुम । मुलुकका ७ सय ५३ वटा स्थानीय तहमध्ये केहीले साँच्चै अनुकरणीय र जनताको मन जित्ने काम गरिरहेका छन् । यसैको एक उदाहरण हो, पूर्वी पहाडी जिल्ला तेह्रथुमको लालीगुराँस नगरपालिका । जहाँ, स्थानीय वासिन्दाका लागि नगर बस संचालन गरिएको छ ।

सुगम या शहरी क्षेत्रका नगरहरुमा समेत कमै देखिने नगर बस लालीगुराँस नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ देखि नियमित रुपमा चलाइरहेको छ । तेह्रथुम जिल्लाको अधिकांश ग्रामिण क्षेत्रहरु पर्ने साविकका बसन्तपुर, फुलेक, सोल्मा, सुङनाम र दांगपा गाविस मिलेर २०७२ साल असोज १ गते लालीगुराँस नगरपालिका बनेको हो ।

पालिका बनेपनि सडक सन्जालको चरम अभाव थियो । नगरको मुख्य बजार वसन्तपुर र लसुनेबाट केही सामान्य ‘ट्रयाक’ मात्र खोलिएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अर्जुनबाबु माबुहाङ नगरप्रमुखमा निर्वाचित भएर आएपछि उनको नेतृत्वमा पालिका आफँैले डोजर, एक्जाभेटर, ब्रेकर खरिद गरि विकासको मेरदण्ड मानिने सडक सन्जाल विस्तारमा लाग्यो । परिणामतः पालिकाका ९ वटै वडाका सडकहरु सोलिङ भए । अहिले नगरपालिकाभित्रका झण्डै ९५ प्रतिशत सडकहरु सोलिङ भई हिउँद, बर्खाभरि नै यातायातका साधनहरु चल्ने अवस्था छ ।

अर्जुनबाबु माबुहाङ, नगरप्रमुख

सडक बनेपछि निजी क्षेत्रका सवारी साधनहरु संचालन त भए, तर नाफा हेरेर मात्र चल्ने भएकाले ग्रामिण भेगका जनताका लागि पालिका आफैँले नगर बस खरिद गरी संचालन गरेको अहिले दोस्रो कार्याकालका लागि मेयरको जिम्मेवारी सम्हालीरहेका मेयर माबुहाङ बताउँछन् ।

३९ लाख ८२ हजार रुपैयाँमा लालीगुराँस नगरपालिकाले खरिद गरेको नगर बस लसुने, मंगलबारे, मेघा हुँदै हप्ताको एकदिन शुक्रबार हटिया लाग्ने जिल्लाको सदरमुकाम म्याङलुङ बजार जान्छ । अन्य दिन भने लालीगुराँस नगरपालिका वडा नं. ३, मुसाङ्गखेलबाट पालिकाको मुख्य व्यापारिक केन्द्र बसन्तपुरसम्म चल्ने नगर बसका चालक ओमबहादुर खड्का बताउँछन् ।

लालीगुराँस नगरपालिका वडा नं. ८, मेघाका वासिन्दा ज्येष्ठ नागरिक कविन्द्र कुमार प्रधान ३,४ घण्टा हिँडेर मात्र पुगिने जिल्ला सदरमुकाम म्याङलुङ बजार अहिले नगरबसमा १ घण्टामै पुगिन थालेपछि निकै हर्षित छन् । नगर बस चल्न थालेपछि स्थानीय कृषिकहरुले उत्पादन गरेका सागसब्जी, फलपूmल र चौपायाहरु विक्रीवितरणका लागि बजारसम्म पु¥याउन समेत सहज भएको प्रधान बताउँछन् ।

पालिकाद्धारा संचालित नगर बसको भाडा पनि सहुलियपुर्ण रहेको छ । मुलतः कृषि पेशामा रहेका यहाँका स्थानीय जनताहरुले बेचविखनका लागि बजारसम्म लैजाने सागसब्जी, फलपूmलल गायतका कृषि उपज, चौपायाहरुको अतिरिक्त भाडा तिर्नुपर्दैन । लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे स्थानीयवासीको माग बढेकाले हाल एउटा मात्र नगर बस संचालनमा रहेकोमा भविष्यमा थप हुनसक्ने बताउँछन् ।

लालीगुराँस नगरपालिका र म्याङलुङ नगरपालिकाको सिमानामा रहेको पिङ्वा खोलामा अहिले तेह्रथुम जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पुर्व शहरी विकासमन्त्री सीता गुरुङको विशेष पहलमा पक्की पुल निर्माण भइरहेको छ । यो पुलको निर्माण सम्पन्न भइसकेपछि यस रुट हुँदै जिल्ला सदरमुकामको यात्रा गर्न झनै सजिलो हुने पालिका उपप्रमुख जानकी मगर कार्कीले जानकारी दिए ।

नगरबसपछि चालु आर्थिक बर्षमै लालीगुराँस नगरपालिकाले स्थानीय कृषक र कृषि उत्पादनलाई प्रर्वद्धन गर्न कृषि एम्बुलेन्स पनि खरिद गर्न लागेको मेयर माबुहाङ्ग बताउँछन् । अहिले पालिकासंग अत्याधुनिक एम्वुलेन्स र वारुणयन्त्र पनि छ ।

प्रतिक्रिया दिनुहोस्