Logo
Logo

श्रम संगठनका कानुन अनुमोदन गर्न केन्द्रीय श्रम सल्लाहकार परिषद्को सिफारिस


189
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले सिफारिस गरेको छ ।

सङ्गठनको महासन्धि ८१ श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ र महासन्धि ८७ सङ्गठनको स्वतन्त्रता र सङ्गठित हुने अधिकारको संरक्षणसम्बन्धी महासन्धि, १९४८ एवं वाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल २९ को अनुमोदन प्रक्रिया अघि बढाउन परिषद् बैठकले सिफारिस गरेको हो ।

श्रम सम्वन्धीमा नेपाल सरकारलाई परामर्श दिने उद्देश्यले श्रम ऐन २०७४ को दफा १०२ बमोजिम गठन भएको केन्द्रीय श्रम सल्लाहकार परिषदको शुक्रबारको बैठकले मन्त्रालयलाई यससम्बन्धी सिफारिश गर्ने निर्णय गरेको हो ।

परिषदका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय श्रम सल्लाहकार परिषदको अघिल्लो बैठकले गरेका निर्णयको कार्यान्वयनको अवस्थाको समीक्षा गरेको थियो ।

श्रम प्रशासन, सामाजिक सुरक्षा तथा व्यवसायजन्य सुरक्षा क्षेत्र सुधारका लागि पनि बैठकले निर्णय गरेको मन्त्रीको सचिवालयले जनाएको छ । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी प्रावधानलाई व्यवस्थित गर्न (क) व्यवसायजन्य रोगहरुको सूची, (ख) कार्यस्थलमा उत्सर्ग हुने ताप सम्बन्धी मापदण्ड र (ग) राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम स्वीकृत गरी कार्यान्वयन ल्याउन पनि बैठकले सिफारिश गरेको छ ।

बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न समितिको कार्य थप व्यवस्थित बनाई पुनरावलोकनको कार्य अघि बढाउन र सामाजिक सुरक्षाको दायरा अभिवृद्धि गर्ने लगायतको विषयमा निर्णय गरेको छ । बैठकले आगामी फाल्गुन १६ र १७ गते काठमाडाँैमा आयोजना गरिने श्रम तथा रोजगार सम्मेलनलाई सफलता र पूर्णताका लागि सुझाव दिएको छ ।

श्रम सम्बन्धी ऐन कानुनमा समसामयिक परिमार्जन गर्न पनि परिषद्ले सुझाव दिएको छ । बैठक सम्बन्धी कार्यविधिको मस्यौदा तयार गर्न समेत मन्त्रालयलाई परिषद्ले सिफारिश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्