काठमाडौं । विश्वव्यापी क्यान्सर सचेतना अभिवृद्धिका लागि आयोजित ‘वर्ल्ड क्यान्सर वाक’ आइतबार भक्तपुरस्थित दरबार स्क्वायरमा सम्पन्न भएको छ । यो कार्यक्रम २६ देशका ३५० भन्दाबढी सहरमा एकसाथ आयोजना भएको हो ।
नेपालमा यस कार्यक्रमको आयोजना काठमाडौं केयर सेन्टरले गरेको हो । कार्यक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौला, काठमाडौं केयर सेन्टरका डा. सिमित सापकोटा, बर्षा कोईराला, नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, उपाध्यक्ष सागर कटवाल, रोट्र्याक्ट किष्ट मेडिकल कलेजकी डा.आराधना जैसवाललगायतको उपस्थिति रहेको थियो ।
भक्तपुरको ख्वप कलेजका विद्यार्थीहरूको समेत सहभागी रहेको कार्यक्रममा उनीहरुले क्यान्सर सचेतनाका लागि समर्थन जनाएका थिए । कलाकार दीपाश्री निरौलाले क्यान्सरबारे जनचेतना जगाउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने धारणा राखिन् । डा. सिमित सापकोटाले समयमै स्वास्थ्य परीक्षण र क्यान्सर रोकथामका उपायहरूबारे जानकारी दिएकी थिइन् ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले नेपालमा यस्ता विश्वव्यापी अभियानको साझेदार बन्न पाउँदा खुसी लागेको बताए । सहभागीहरूले क्यान्सर सचेतनाका लागि आफ्नो प्रतिबद्धता जनाएका छन्् ।