काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाको बयान सुरु भएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, सहकारीका व्यवस्थापक नवीन अछामीसहित ३९ जनाको काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सुरू भएको हो । बयान सकिएपछि थुनछेक बहस हुने छ ।
थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरेको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र ६५ लाख धरौटी तिरेर रिहा भएका थिए ।
त्यसपछि शुक्रबार आफैं काठमाडौं अदालतमा उपस्थित हुनेगरी थुनामुक्त भएका लामिछाने आज अदालतमा हाजिर भएका हुन् ।