काठमाडौं । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सको खानाका कारण यात्रुलाई ‘फुड पोइजनिङ’ भएको घटनाबारे छानबिन गर्न नेपालका तर्फबाट समिति गठन गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको इन्फोसान सचिवालयका शाखा प्रमुख सुमन धितालको संयोजकत्वमा आइतबार चार सदस्यीय समिति गठन गरिएको हो ।
खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानसम्बन्धी बैठकले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो ।
क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौंबाट हङकङका लागि जनवरी ८ र ९ मा उडान भरेका १८ यात्रुलाई ‘फुड पोइजनिङ’ भएको थियो । घटनाबारे इन्फोसानको सचिवालयले चासो राख्दै इमेल पठाएपछि विभागले अनुसन्धान थालेको हो ।
उडानको दुई दिनसम्म अस्वस्थ भएपछि यात्रुलाई हङकङकै नर्थ लन्ताउ हस्पिटलमा उपचार गरिएको थियो । हङकङको ध्जवाबाहक कम्पनी क्याथे प्यासिफक एयरलाइन्सले विज्ञप्ति जारी गरेर माफी मागिसकेको छ ।