काठमाडौं । संघीय संसदअन्तर्गत आज चार समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएका हुन् ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गर्ने तय भएको छ ।
त्यस्तै अर्थ समितिको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ ।
त्यसैगरी, दिउँसो साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल जारी रहने छ ।
बैठक दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।