काठमाडौं । माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित गर्दै २०८१ साल पुस २८ गते होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
बैंंक सञ्चालक जयमुकुन्द खनालले स्वागत मन्तव्य राख्नुभएको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जिपी राजवाहक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गर्नुभएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकाससँगसँगै यसमा देखापरेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबुत बनाउन यथाशक्य योगदान पु¥याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय ऊर्जा, साना तथा मझौला उद्योगलगायत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको जानकारी गराउनुभयो ।
यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिइरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागिपरिहेको बताउनुभयो ।
साधारणसभामा बैंकको संस्थापक शेयरधनीको तर्फबाट पूर्व वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र महतो एंव समाजसेवी प्रेमकुमारी केसीको पनि सहभागिता थियो भने अन्य संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता थियो ।