काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको सोमबारको बैठकमा उनले एआईको प्रयोगमा नेपाल भुटानभन्दा पनि कमजोर रहेको बताएका हुन् ।
उनले भने, ‘अस्ति भर्खर आएको जस्तो लाग्छ त्यो प्रविधि । अरू त यति धेरै फास्ट भइसकेको रहेछ, हामी त भुटान भन्दा पनि पछाडि भइसक्यौँ, एआईको पोलिसी चाँडोभन्दा चाँडो बनाएर एआईको ऐनको ड्राफ्ट पनि गर्दै छौँ ।’
उनले नीति पारित भएपछि एआईको प्रयोग बढ्ने विश्वास व्यक्त गरे । सुशासन कायम गर्न नागरिक एपको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।
‘नागरिक एप कार्यान्वयन गर्ने भनेर हामीलाई जिम्मा दिएको छ । नागरिक एप गाइड गर्ने कुनै ल नै भएन हामीसँग,’ उनले भने, ‘सुशासनमा यत्ति महत्त्वपूर्ण भुमिका रहेछ त्यसको, त्यो चिज व्यवस्थापन गर्नुपर्नेछ ।’
मन्त्री गुरुङले आमसञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्ने गरी विधेयक ल्याइने बताए ।