काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनअघि चीनसँग भएको ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ (बीआरआई) सम्झौतामा कतै पनि ‘ऋण’ शब्द नभएको स्पष्ट पारेका छन् ।
सोमबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले ऋण लिने गरी बीआरआई सम्झौता नभएको दाबी गरे । उनले भने, ‘२० हजारपटक अध्ययन गरेर तयार पारेको दस्तावेजमा ‘ऋण’ शब्द छैन, एकसयपटक पढ्नोस्, ऋण शब्द भेटिँदैन ।’
सम्झौतामा ‘ग्रान्ट’को ठाउँमा ‘एड’ शब्द राखिएको उनले बताए । ‘ग्रान्ट’ र ‘एड’को अर्थ एउटै भएको दाबी उनको थियो । “ग्रान्ट र एडमा फरक छैन । अर्थ एउटै हो,’ परराष्ट्रमन्त्री राणाले भने ।
उनले विश्वास नलागे विभिन्न डिक्सनेरी हेर्न समितिका सदस्यहरूलाई सुझावसमेत दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए ।
भ्रमका बेला नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कलगायत १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।