Logo
Logo

अदालतको क्यासिनो मोह


567
Shares

काठमाडौं । गैरकानुनी धन्दा सञ्चालन गर्ने नेपालका मिनी क्यासिनोहरूमा लाइभ गेम चलाउदा करोडौँ राजश्व नोक्सानी भइरहेको छ । करिब ४० वटा मिनी क्यासिनो मध्ये १५ वटा अदालतको अन्तरिम आदेशको आडमा सञ्चालन भैरहेको र तिनमा लाइभ गेम चलाउदा मासिक करोडौँ रुपैयाँ राजश्व नोक्सानी भएको छ भने गैरकानुनी सञ्चालनले सरकारलाई वार्षिक अर्बौं रुपैयाँ नोक्सानी भएको देखिन्छ ।

भारतसँग सीमा जोडिएका विभिन्न सहरसहित देशभर करिब ३ दर्जन मिनी क्यासिनो सञ्चालनमा छन् । पर्यटन विभागका अनुसार हाल १४ वटा मिनी क्यासिनो कानुनसंगत र १५ वटा अदालतको आदेशका भरमा सञ्चालनमा छन् । तर, अदालतका कर्मचारीसँग सेटिङ मिलाएर यी क्यासिनो सञ्चालकले राज्यलाई चुनौती दिँदै राजस्व छली गरिरहेका छन् ।

कानुनअनुसार, प्रत्येक मिनी क्यासिनोले वार्षिक २ करोड ५० लाख रुपैयाँ रोयल्टी बुझाउनुपर्ने प्रावधान छ । ठूला क्यासिनोले ६ करोड ५० लाख रुपैयाँ बुझाउनुपर्छ । तर, मिनी क्यासिनो सञ्चालकहरूले गैरकानुनी तरिकाले लाइभ गेम सञ्चालन गर्दै राज्यलाई मासिक ४ करोड रुपैयाँ घाटा पु¥याइरहेका छन् ।

पर्यटन विभागका उच्च अधिकारीदेखि महानिर्देशकसम्म मासिक दररेटको घुस बुझेर मिनी क्यासिनोलाई अवैध गतिविधि गर्न सहयोग गरिरहेको स्रोतको दाबी छ । गिल्ट इन्भेष्टमेन्ट प्रालि, रक इन्टरनेशनल प्रालि र सेन्ट्रल मिडिया प्रालिजस्ता कम्पनीहरूका सञ्चालकहरू सुरेन्द्रबहादुर सिंह, नरेन्द्र साहले अदालतको अन्तरिम आदेशको भरमा क्यासिनो सञ्चालन गरिरहेका छन् ।

सिंह, जसलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अवैध सम्पत्ति आर्जनको आरोपमा मुद्दा चलाएको थियो । उनले क्यासिनोबाट आर्जित रकम मिटरब्याजमा लगानी गरिरहेका स्रोतको दाबी छ । कानुनअनुसार, मिनी क्यासिनोले लाइभ गेम सञ्चालन गर्न पाउँदैन । तर, अनुगमनको अभावमा सबै मिनी क्यासिनोहरूले गैरकानुनी रूपमा लाइभ गेम सञ्चालन गरिरहेका छन् ।

मिनी क्यासिनोहरूले यस्तो ब्रम्हलुट गर्दा पनि पर्यटनमन्त्री बद्री पाण्डे मौन बसिरहेका छन् । उनले ठुला क्यासिनोमा नेपाली प्रवेश गरेका विषय पनि नजरअन्दाज गर्दै आएको देखिन्छ । कतिपय मिनी क्यासिनोले त एउटै लाइसेन्समा २ वटा क्यासिनो सञ्चालन गर्दा पनि विभाग मौन रहँदै आएको छ । मिनी क्यासिनोमा धेरैजसो नेपालीहरू नै ग्राहक हुने गरेका छन् ।

सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागको सिफारिसमा क्यासिनो सञ्चालनको अनुमति दिन्छ । क्यासिनो सञ्चालनका लागि ‘क्यासिनो नियमावली, २०७०’ समेत छ । नियम १८ मा नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनोस्थलमा प्रवेश गर्न नपाउने व्यवस्था छ । यदि नेपाली नागरिकलाई क्यासिनोस्थलमा प्रवेश गराएमा वा क्यासिनो खेलाएमा इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था छ । तर लुकाई छिपाई नेपालीहरुलाई भारतीय आधार कार्ड बनाएर छिराउने गरेका छन् ।

नेपालीलाई क्यासिनो खेल्न बन्देज गरिए पनि प्रहरी–प्रशासनको मिलेमतोमा सञ्चालकले निर्वाध रूपमा प्रवेश गर्न दिँदा समस्या सिर्जना भएको छ  । क्यासिने जाने नेपालीलाई पछाडिपट्टिका ढोेकाबाट प्रवेश गराउने गरिएको छ । त्यति मात्र होइन, क्यासिनोमा नेपाली मुद्राको प्रयोग गर्न पाइँदैन । तर, यहाँका क्यासिनोमा ९० प्रतिशत कारोबार नेपाली मुद्रामा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्