काठमाडौं । मुलुकको विभिन्न स्थानहरूमा विस्तार भइरहेका भूमिगत प्रसारण लाइनमा मापदण्ड नपुगेका (फलेग्जीवल पाइप) को प्रयोग भइरहेको पाइएका छन् । नेपाल विद्युत प्राधिकरणबाट तोकिएको मापदण्ड विपरित ठेक्का पाएका टाटा प्रोजेक्ट लिमिटेडले कार्य गरिरहदा गुणस्तरहीन पाइप प्रयोग भएको पाइएको हो ।
भूमिगत प्रसारण लाइन विस्तारको कार्य ललितपुर–भक्तपुर, पोखरा–भरतपुर तथा मधेश प्रदेशको आठ वटै जिल्लामा आयोजनाको रुपमा संचालनमा रहेका छन् । उक्त अभियान ललितपुर–भक्तपुर, पोखरा–भरतपुरमा एशियाली विकास बैंक (एडीबी) र मधेश प्रदेशमा पाँच वटा परियोजनामा एडीबी, नर्वे लगानीमा विस्तार कार्य भइरहेको छ ।
भूमिगत प्रसारण लाइनमा न्यून गुणस्तरको तार (कन्डक्टर) राख्ने पाइप (फ्लेकिबल पाइप) प्रयोग भएको अहिले मुख्यतः ललितपुर, भक्तपुरमा देखिएको स्रोतको दाबी छ । कम गुणस्तरको पाइप उत्पादन भइ आयात हुनु र त्यही प्रयोगबाट भविष्यमा ठूलो नोक्सानी हुन सक्नेतर्फ ध्यान नदिई गुणस्तरहीन पाइप प्रयोग भएको स्रोतले जनाएको छ ।
हाल भूमिगत लाइन विस्तार भइरहेका ठाउँमा ६ मिटरको पाइप २५ केजी हुनुपर्ने मापदण्ड रहेको छ तर त्यसको तौलमा १ देखि १.५ किलोग्राम र पाइपको थिकनेस (मोटाई) १ देखि १.२५ एमएम सम्म कम रहेको पाइएको छ । दुई प्रकारको पाइपको प्रयोग भईरहेको पाइएको छ । ६ इन्च र ४ इन्च मोटाई भएको पाइप प्रयोग भइरहेको स्रोतले बतायो ।
बढी सप्लाई ४ इन्चको पाइप भएको हुँदा यसैमा बढि समस्या देखिएका छन् । मापदण्ड अनुसार ६ मिटरको पाइपको टुक्रा मोटाई (थिकनेस) सरदर बराबर हुनुपर्ने तर पाइपको दुबै तर्फ ठिक भएपनि बिचमा कम हुँदा केबल कण्डक्टर छिराउदा फुटिरहेको समस्या आएपछि चेकजाँच गर्दा पाईपको बिच भागमा रहेका थिकनेसमा कमी आएपछि मापदण्ड विपरित कार्य भईरहेको रहस्य खुलेपछि यसलाई भित्री रुपमा सल्टाउने चलखेल भइरहेको छ ।
एशियाली बिकास बैंक (एडीबी) को सहयोगमा भुमिगत तर विस्तार (प्रशारण लाईन) आयोजनामा यसप्रकारको लापरवाही एवं अनियमितता हुनु नेपालका लागि अति महत्वाकाँक्षी परियोजनामा आर्थिक चलखेल एवं अपारदर्शिताको शंका उत्पन्न गराएको स्रोतले जनाएको छ ।
ती सबै कामको रेखदेख गर्ने निकाय आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतको वितरण लाईन सवस्टेशन विभाग अन्तर्गत भईरहेका छन् । पाइपमा तार भएको कण्डक्टर तन्काउने क्रममा कम मापदण्डको पाइप फुटेपछि परिक्षण गर्दा कम गुणस्तरको पाइएको रिपोर्टमा उल्लेख गरिएका छन् ।
ललितपुर–भक्तपुर, पोखरा–भरतपुर तथा मधेश प्रदेशको पाँच आयोजनाको कार्य गर्न ठेक्का ईपीसी (ईन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन अर्थात अध्ययन, खरिद र निर्माण) मोडलमा भारतीय कम्पनी टाटा पावर लिमिटेडले पाएको बताइएको छ । परामर्शदाताको जिम्मेवारी भारतकै ग्रिड इन्डियाले लिएको छ । यस्तै, पाइप उत्पादक भारत जयपुरको तिजोरिया पोलिपाइप लिमिटेड र मोहित पाइप पोलिटेक जयपुरको रहेको छ । प्राधिकरण, टाटा पावर र पाइप उत्पादक तिन वटै निकायको संलग्नता विना गुणस्तरमा यति सम्म लापरवाही हुन नसक्ने विज्ञहरुको दावी छ ।
यो समस्या साढे ४ महिना अगाडि नै देखिए पनि यसलाई अहिले सम्म सञ्चालक समितिमा लगेर छलफलसम्म गरिएको छैन । ठेकेदारले १२५ र १६० एमएम (मिलिमिटर) को पाइप ल्याएकोमा १६० एमएममा बढी समस्या देखिएको छ, यस्ता पाईपहरु वर्दिवास सहित विभिन्न स्थानमा राखिएको छ र कतिपय पाइप अझै सुख्खा बन्दरगाह वीरगञ्जमै थन्किएको बताइएका छन् ।
मधेश प्रदेशमा पाँच लटमा विभाजन गरी भूमिगत लाइन विस्तार आयोजना संचालनमा रहेको छ । मधेसमा चार वटा लटमा काम भईरहेको छ, जसमा मापदण्ड भन्दा कम तौल र लम्बाइ भएको पाइपको आयात भएको पाइएको छ ।
यसरी मापदण्ड भन्दा न्यून गुणस्तरको पाइप प्रयोगमा आएर समस्य उत्पन्न भएपछि भित्री रुपमा इन्जिनियरहरु भविष्यमा यो विद्युतीय धराप हुनसक्ने शंका व्यक्त गरेका छन् । तिजोरिया पोली पाइप र मोहित पाइप पोलिटेक जयपुरले नेपालमा सप्लाई गरेका पाइपको विशेषज्ञको रोहवरमा चेकजाँच गराई साँठगाँठ राख्ने ठेक्केदार, सप्लायर्सलाई कानुनी दायरमा ल्याई भूमिगत प्रसारण लाईनलाई व्यवस्थित बनाउन उर्जा विज्ञहरुले सुझाव दिइरहेका छन् ।