काठमाडौं । राजश्व अनुसन्धान विभागले करोडौँ रुपैयाँको इलेक्ट्रोनिक सिगरेट (भेप) बरामद गर्दा त्यसको कारोबारी भने फरार रहेका छन् । नेपाल–चीन सीमा नाकाबाट तस्करी भई आएको करोडौँ रुपैयाँको भेपमा व्यावसायी रमेश शेर्पा र पवन साह भने फरार भएका हुन् । ललितपुरको इमाडोल शितलहाइटको गोदाममा भण्डार गरि राखिएको अवस्थामा बरामद गरिएको थियो ।
स्रोतका अनुसार पुस २२ गते सो कार्यमा संलग्न हुन सक्ने आशंकामा २ व्यक्ति प्रकाउ गरिएपछि करोडाँै रुपैयाँ बराबरको सामान बरामद भएको थियो । शुरुमा ५०० भन्दा बढी कार्टुनमा प्याक गरिएको अवस्थामा दुइ ट्रक परिमाणमा सामान बरामद भएको थियो । सो भेप शेर्पा र साहले उक्त सामान तातोपानी नाकाबाट चोरी पैठारी गरी भन्सार छलेर ल्याएका थिए ।
सो भेपको बजार मुल्य अन्दाजी २५ करोडभन्दा बढी रहेको बताइएको छ । यसैगरी सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको दुर्घटनामा संलग्न गाडीमा समेत १४०० थान भेप रहेको स्रोतको दाबी छ । सो विषयमा सर्लाही प्रहरी र राजश्व अनुसन्धान विभाग पथलैयाले अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै बुटवल कार्यालयमा समेत भेप बरामद गरी अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
केही दिनअघि मुस्ताङ प्रहरीले समेत कोरोला नाकाबाट भन्सार छली गरी ल्याउदै गरेको १९००० (उन्नाइस हजार थान) भेप आवश्यक अनुसन्धानको लागी राजश्व अनुसन्धान विभागमा बुझाएको छ । बरामद गरिएको सबै भेपको मूल्य ५० करोडमाथि पुग्ने बताइएको छ ।
पवनकुमार साह तिनै व्यक्ति हुन्, जसले जीबी राईले सहकारी ठगी गरेर ललितपुरको भंैसेपाटीमा किनेको एक अर्बभन्दा बढी पर्ने २३ रोपनी ७ आना जग्गा १२ करोड ५० लाखमा खरिद गरेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनीहरूसँग बयान लिए पनि सहकारीको रकमले जग्गा किन्नेहरूलाई प्रतिवादी बनाएर मुद्दा दर्ता नगरी उन्मुक्ति दिएको बताइएको छ । सहकारी समस्यामा परिसकेपछि जीबी राईले विवादास्पद नागरिक साहको लगानीको कम्पनी चेनी क्यापिटललाई १२ करोड ५० लाखमा बिक्री गरेका थिए ।
उनले जिल्ला प्रशासन कार्यालय रौतहटबाट नक्कली बाबु बनाएर २०५२ साल मंसिर ७ गते नेपाली नागरिकता लिएको अभिलेखमा देखिन्छ । उनले चन्द्रनिगाहपुर स्थायी ठेगाना राखी लिएको नागरिकता प्रमाण पत्र नम्बर १७२९ रहेको छ ।
सो नागरिकता प्रयोग गरी उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दोस्रो प्रतिलिपीसमेत निकालेको स्रोतको दाबी छ । ४५ वर्षदेखि नेपालमा व्यापार व्यवसाय गर्दै आएको दावी गर्ने साहले कसरी बंशजबाट उक्त नागरिकता लिन सफल भए ? यसमा सीआईबीले छानविन गर्ने हो भने उनले झुटा विवरण पेश गरी नागरिकता लिएको खुल्ने बताइएको छ ।
यता, राजनीतिक संरक्षणमा भेप तस्करी गर्दै आएका सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पा यो पटक भने सेटिङ मिलाउन नसकेर फन्दामा परेका हुन् । इलेक्ट्रोनिक सिगरेट, रासायनिक मल, स्याउलगायतका सामान चीनबाट ल्याउने र नेपाल हुँदै भारततर्फ तस्करी गर्दै आएका शेर्पा र साहलाई कुनै बेला माओवादीका नेताहरुले संरक्षण गरेको बताइन्छ ।