काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहने भएका छन् । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि बुधबार हुनेगरी आजका लागि सकिएको छ ।
यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । मंगलबार सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल नौ जनाले बहस गरेका थिए।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे । यस्तै, सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरे पनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा भएको थुनछेक बहसपछि धरौटीमा रिहा भएका थिए। स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप छ । ती जिल्लामा समेत मुद्दा अभियोजनको प्रक्रियामा छ ।