काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
माघे संक्रान्तिका अवसरमा आज शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । यस पर्वलाई मुलुकका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।
थारू समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउँछन् । तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रही आएको पनि राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा नेपाललाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने राष्ट्रपति पौडेलले बताए ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले नेपालीका बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।