काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । संयुक्त मोर्चा गठन गर्ने प्रयासस्वरुप बनेको कार्यदलको बैठक विहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा बस्न लागेको हो ।
बैठकमा विभिन्न दलका नेताहरू सहभागी भई मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डाबारे छलफल हुने कार्यदलका सदस्य राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जानकारी दिए ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन र थ्रेसहोल्डको प्रतिशत बढाउने तयारी गरेपछि छिन्नभिन्न भएका मधेश केन्द्रित दलहरु कार्यगत एकतामा जुटेका हुन् ।