काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका छन् ।
मंगलबार काठमाडौंमा बसेको मधेश केन्द्रित राजनीतिक दलहरूको कार्यदल स्तरीय बैठकले संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रूपमा सम्बोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका हुन् ।
दुई दलीय प्रणालीमा लैजाने, थ्रेस होल्ड लगायतका विषयले देशको राजनीतिलाई नै असर पार्ने काम भइरहेकाले साझा ढङ्गले अघि बढ्ने सहमति समेत भएको जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए ।
उनले मधेश केन्द्रित राजनीतिक दलहरुहरु अव मोर्चा बनाएर अघि बढ्ने भन्दै आगामी बैठकमा साझा एजेन्डा तयार गरिने बताए । विभिन्न कारणवश मधेश केन्द्रित दलहरु विभाजित भएकाले भन्दै अव सहकार्य गर्ने प्रण गरिएको र वार्ता समितिलाई सक्रिय बनाएर अघि बढ्ने उनले बताए ।
बैठकमा जनता प्रगतिशील पार्टी लगायत राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका नेता, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत सहभागी थिए । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि बैठकमा बोलाए पनि कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेको र अर्को बैठकमा सहभागी हुने जवाफ आएको त्रिपाठीले बताए ।