काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका पूर्वसांसद बिमल कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको छ । केहि दिनअघि बसेको प्रदेश कमिटीको सचिवालय बैठकले नलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको हो ।
कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार सोही विषयलाई लिएर कार्कीलाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यशैलीबारे सामाजिक संजालमा आलोचना गरेपछि कार्कीलाई प्रदेश कमिटीले मंसिर १६ मा स्पष्टीकरण सोधेको थियो । कार्की पूर्वप्रदेश सांसद, प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य हुन् ।
व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयको आलोचना गरेपछि नेता भीम रावल पार्टीबाट निष्कासनमा परेका थिए । नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिना पनि ६ महिनाका लागि निलम्बनमा परेका थिए ।