काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस आज बिहान शिवसताक्षी नगरपालिका–१ धरमपुरमा आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेहरुमा गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला, शर्मिला कोइराला, टंक सिवाकोटी, आन्सा फ्यादेन, सुमना लिम्बु, पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र शान्तिराम खतिवडा रहेका छन् ।
उनीहरुको टाउको, ढाड र हातमा चोट लागेको छ । घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बसका चालक झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।