काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउने उदेश्यका साथ बिभिन्न अध्यादेश ल्याएको बताएका छन् ।
उद्योग व्यवसाय प्रवर्धनको लागि अध्यादेश ल्याएकोमा धन्यवाद दिन बुधबार बालुवाटारमा उद्योगी व्यवसायीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउदै अघि बढाउने उदेश्यका साथ अध्यादेश ल्याएको बताएका हुन् । साथै उनले उत्साहित भएर अघि बढ्न निजि क्षेत्रलाई आग्रह गरे ।
कांग्रेस र एमालेको विचार नमिलेको र सरकार ढल्दै छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताउँदै ओलीले सरकारले सल्लाह गरेर काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले केही मानिसहरु भने विरोधका लागि विरोध मात्र गर्ने चरित्रका भएको बताए । त्यस्ता चरित्रबाट सचेत हुनुपर्नेमा ओलीले जोड दिए ।
भूमिसम्बन्धी समस्याहरू सुल्झाउन छिटै अध्यादेश जारी हुने उनले जानकारी दिए । सरकारले हाउजिङ गर्न दिने तर बनाइसकेपछि हदबन्दी लगाएर रोक्ने गर्दा व्यक्तिको लगानी डुब्ने र सबै क्षेत्र अस्तव्यस्त हुने कुरालाई चिर्न सो अध्यादेशले सहयोग गर्ने प्रधानमन्त्रीले स्पष्ट पारे ।
सरकार र निजी क्षेत्र एक्ला एक्लै हिँडेर गन्तव्यमा नपुगिने बताउँदै ओलीले दुवै क्षेत्र पाटनरसिप गरेर अघि बढ्दा मात्र गन्तव्यमा पुगिने प्रष्ट पारे । कृषिलाई सबल बनाउन जग्गाको हदबन्दीलाई हटाउनु पर्नेमा जोड दिँदै यसको लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।