Logo
Logo

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या


1.1k
Shares

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको आफ्नै श्रीमतीले हत्या गरेको खुलेको छ । बीमाको रक हत्याउन श्रीमती जनक कुमारी रानाले इटाले टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको हो ।

२०८१ मंसिर १३ गते सियारामको शव आफ्नै घरको शौचालयमा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा शवको अवस्थाले लडेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको टाउकोमा गहिरो चोटपटक पाइएको थियो । थप अनुसन्धानका क्रममा सुत्ने कोठामा रगतका छिटाहरू, रगत लागेको ईट्टा, र दराजभित्र रगतले भिजेका कपडा फेला परेको थियो ।

त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा जनक कुमारीले ईट्टाले प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन् ।

तर अनुसन्धान गर्दै जाने क्रममा घटनाको प्रमुख योजनाकार भारतीय नागरिक फारुख रहेको र उनको सल्लाहमा हत्या गरिएको खुलेको छ । प्रहरीले जनक कुमारीलाई मंसिर ८ गते अदालतको आदेशमा थुनामा पठाएको छ ।

फारुख भने फरार रहेका थिए । प्रहरीको निरन्तर खोजतलासपछि उनलाई भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर क्षेत्रबाट पक्राउ गरी पुस २८ गते बेलौरी ल्याइएको छ ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा फारुखले मृतक सियाराम रानाको जीवन बीमा र सम्पत्तिमा दाबी गर्ने उद्देश्यले श्रीमती जनक कुमारीसँग मिलेर हत्या योजना बनाएको स्वीकार गरेका छन् ।

सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए । उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए ।

त्यसपछि अदालतको आदेशमा फारुखलाई थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्