काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक खुल्ला विश्वविद्यालयबाट पढ्दै नपढी किनेर ल्याएको प्रमाणपत्र पेश गरी एक विवादास्पद नापी अधिकृतलाई प्रमुख नापी अधिकृत(उपसचिव)मा बढुवा गर्ने तयारी गरेको छ ।
मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टसहितका केही अधिकारी किनेको प्रमाणपत्रको आधारमा नापी कार्यालय भैरहवाका निमित्त कार्यालय प्रमुख सुग्रिव यादवलाई प्रमुख नापी अधिकृतमा बढुवा गर्नका लागि त्रिभुवन विश्वविद्यालयलाई समेत विवादमा पारेका छन् ।
उपसचिव कार्यालय प्रमुख हुने आकर्षक जिल्ला पश्चिम नवलपरासी र भैरहवा नापी कार्यालयमा ७ बर्षदेखि कार्यालय प्रमुखका रुपमा चलाएका सुग्रिव यादव अति नै विवादित नापी अधिकृत हुन् । विदेश अध्ययन गर्न जाने प्रमुख नापी अधिकृत नवराज सुवेदीको दरबन्दी नवलपरासी नापी कार्यालयको प्रमुखमा राखी सुग्रिवले ५ बर्ष निमित्तका रुपमा चलाए । अहिले जर्मनी अध्यय गर्न गएका अर्का नापी अधिकृत सुमेर कोइरालालाई भैरहवामा दरबन्दी राखी उनले कार्याल प्रमुख चलाउँदैआएका छन् ।
नवलपरासी र भैरहवा दुवै जिल्लामा उनले जग्गाको नापजाँच गर्दा ठूलो चलखेल गरी करोडौं भ्रष्टाचार गरेको र त्यसको हिस्सा माथिसम्म पुर्याएर भारतको ग्लोबल युनिभर्सिटी नागा किनेको प्रमाणपत्रका आधारमा बढुवा हुने दाउमा लागेका छन् । यादवलाई बढुवा गराउन भूमिब्यवस्था मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले त्रिभुवन विश्वबिद्यालय पाठ्यक्रम विकास केन्द्रलाई भारतको खुल्ला विश्वविद्यालयलाई पत्र लेख्दा कुन बिषयमा पास गरेको हो, उक्त बिषयको प्रमाणपत्रलाई मान्यता छ कि छैन भनेर लेख्नुपर्नेमा युनिभर्सिटीको बारेमा मात्र लेखेका छन् ।
अनिवार्य उपस्थित भएर क्लास लिनुपर्ने र प्राक्टिकल गर्नुपर्ने प्राविधिक विषयमा अनलाइन र डिस्टान्स लर्निङ मोडबाट सर्टिफिकेट ल्याएर त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रमा समकक्षता निर्धारण गराउनेको भीड बढेपछि २०७४–०७५ सालबाटै त्रिभुवन विश्वविद्यालयले ग्लोबल ओपन युनिभर्सिटी, नागाल्याण्ड भारतबाट ल्याइएको माष्टर अफ साइन्स(एम.एस.सी.) रिमोट सेन्सिङ बिषयलाई मान्यता तथा समकक्षता दिन रोक लगाएको थियो ।
त्रिविले रोक लगाएको अवस्थामा भूमिब्यवस्था मन्त्रालयका सहसचिव भट्टले बिषय उल्लेख नगरी त्रिवि पाठ्यक्रम विकास केन्द्रलाई ग्लोबल ओपन युनिभर्सिटी, नागाल्याण्ड भारतको मान्यता छ कि छैन भनेर सोधेका छन् । प्राक्टिकल गर्नुपर्ने प्राविधिक विषयमा बाहेक अरु बिषयमा ग्लोबल ओपन युनिभर्सिटी, नागाल्याण्ड भारतका प्रमाणपत्रलाई त्रिविले मान्यता दिएको छ । तर नापी अधिकृत सुग्रिव यादवलाई ग्लोबल ओपन युनिभर्सिटी, नागाल्याण्डकै प्रमाणपत्रका आधारमा बढुवा गर्न बिषय उल्लेख नगरी युनिभर्सिटीको मान्यता भए नभएकोमात्र सोधिएको छ । जसका कारण त्रिविलाई समेत गुमराहमा पार्न खोजिएको देखिन्छ ।
विवादित नापी अधिकृतलाई बढुवा गर्न यस्तो छ चलखेल
नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहमा सर्टिफिकेट किन्दै बढुवा हुने प्रचलन बढ्दै गएको छ ।
नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूची (सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यताको प्रकरण १३९ सर्भे समूहको लागि) मा राजपत्रांकित तृतीय श्रेणीको पदको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सर्भेमा स्नातक वा सो सरह उत्तीर्ण वा भूगोलमा स्नातकोत्तर उपाधि प्राप्त गरी एक वर्षको सिनियर नापी तालिम वा सरहको तालिम प्राप्त वा गणित विषयसहित विज्ञान विषयमा स्नातक वा सो सरह उतिर्ण वा सिभिल इन्जिनियरिङ विषयमा स्नातक वा सो सरह उतिर्ण गरी एक वर्षको तालिम प्राप्त हुनुपर्र्ने उल्लेख छ ।
राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भेमा स्नातकोत्तर उपाधि प्राप्त वा भूगोलमा वा गणितसहित विज्ञान विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरह र एक वर्षको सिनियर नापी तालिम प्राप्त भई नियमावलीको नियम १५ को उपनियम (२०) बमोजिमको अनुभव प्राप्त भनी योग्यता तोकिएको छ ।
२०६८ भदौ १२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूची (३९सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यताको प्रकरण १३९ सर्भे समूहको लागि) को सट्टा सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यतामा परिवर्तन गरी राजपत्रांकित तृतीय श्रेणी (नापी अधिकृत वा सो सरह) को पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सर्भेमा वा जियोमेटिक्स इन्जिनियरिङमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।
राजपत्रांकित द्वितीय श्रेणी (प्रमुख नापी अधिकृत वा सो सरह) र प्रथम श्रेणी (सहसचिव वा सो सरह) को पदका लागि राजपत्रांकित तृतीय श्रेणी (नापी अधिकृत वा सो सरह) को पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको र मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भे वा जियोमेटिक्स इजिनियरिङसँग सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो सरह उतिर्ण र ऐनको दफा ७ को उपदफा (१६) बमोजिमको अनुभव प्राप्त गरेको भनी योग्यता तोकिएको छ ।
मिति २०६८ कात्तिक २१ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल इन्जिननयरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूची ३ (सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यता) को प्रकरण १३(सर्भे समूहको लागि) को सट्टा सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यतामा ‘तर सम्वत् २०६८ साल भदौ १२ गते सूचना प्रकाशित हुनुअघि इञ्जिनियरिङ सेवा, सर्भे समूहमा बहाल रहेका कर्मचारीको हकमा त्यस्तो सेवा समूहमा प्रवेश गर्दा तोकिएको शैक्षिक योग्यता नै न्यूनतम शैशिक योग्यता मानिने छ’ भनी थप गरिएको छ ।
नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को नियम ८ मा ‘कार्यक्षमताको मूल्याङ्कनद्धारा बढुवा हुनका निमित्त राजपत्रांकित पदहरुको हकमा नियमावलीको नियम ८१ को उपनियम (३) बमोजिमको शैक्षिक योग्यता र राजपत्र अनंकित पदहरुको हकमा तत् तत् पदहरुमा सेवा प्रवेशका लागि निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ’ भन्ने उल्लेख रहेको छ ।
उल्लिखित कानूनी व्यवस्था बमोजिम राजपत्रांकित द्वितीय श्रेणी (प्रमुख नापी अधिकृत वा सो सरह) र प्रथम श्रेणी (सहसचिव वा सो सरह) को पदको बढुवाको संभाब्य उमेद्वार हुनका लागि २०६८ साल भदौ १२ गते सूचना प्रकाशित हुनुअघि इन्जिनियरिङ सेवा, सर्भे समूहमा बहाल रहेका कर्मचारीको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट सर्भेमा स्नातक वा सो सरह उत्तीर्ण वा भूगोलमा स्नातकोत्तर उपाधि प्राप्त गरी एक वर्षको सिनियर नापी तालिम वा सरहको तालिम प्राप्त वा गणित विषयसहित विज्ञान विषयमा स्नातक वा सो सरह उत्तीर्ण वा सिभिल इन्जिनियरिङ विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरी एक वर्षको तालिम प्राप्त गरेको हुनुपर्दछ । तर हालका प्रमुख नापी अधिकृत मग्नु दत्त बढुवा हुँदा उल्लेखित न्यूनतम शैक्षिक योग्यता नभएको, सिनियर नापी तालिमसमेत नभएको अवस्थामा अन्य असम्बन्धित विषयमा स्नातक गरी सिधै सिक्किम मनिपाल भारतको डिस्टान्स लर्निङबाट एम. एस्सी. जियोइन्फरमेटिक्सको सर्टिफिकेट पेस गरेर बढुवा भए ।
त्यसैगरी ग्लोबल ओपन युनिभर्सिटी, नागाल्याण्ड भारतको डिस्टान्स लर्निङबाट Master of Science (M.Sc.) Remote Sensing को किनुवा सर्टिफिकेट पेस गरेर मोहम्मद साविर हुसैन सहसचिवमा बढुवा भए ।
त्यसैगरी किनुवा सर्टिफकेट पेश गरेर गंगालाल पोख्रेल, जनक भट्टलगायतका प्रमुख नापी अधिकृतमा बढुवा भए ।
त्यसैगरी गत वर्ष बढुवा भएका प्रमुख नापी अधिकृत कैलाशनाथ पाण्डेले ग्लोबल युनिभर्सिटी, नागाल्याण्ड भारतबाट Bachelor of Science (B.Sc.) (Hons.) in Environmental Science / Master of Science (M.Sc.) Remote Sensing डिस्टान्स लर्निङ मोडको सर्टिफिकेट पेश गरी बढुवा भए ।
Bachelor of Science (B.Sc.) (Hons.) in Environmental Science राजपत्रांकित तृतीय श्रेणी (नापी अधिकृत वा सो सरह) को पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नै होइन । प्राक्टिकल गर्नुपर्ने प्राविधिक विषयमा अनलाइन र डिस्टान्स लर्निङ मोडबाट सर्टिफिकेट ल्याएर त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रमा समकक्षता निर्धारण गराउनेको भीड बढेपछि २०७४–०७५ सालबाटै त्रिभुवन विश्वविद्यालयले ग्लोबल युनिभर्सिटी, नागाल्याण्ड भारतबाट ल्याइएको माष्टर अफ साइन्स(एम.एस.सी.) रिमोट सेन्सिङ बिषयलाई मान्यता तथा समकक्षता दिन रोक लगाएको थियो ।
पछि त्रिभुवन विश्वविद्यालयले ‘उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता निर्धारण कार्यविधि, २०७८’ जारी गरी यस्ता प्राक्टिकल गर्नुपर्ने प्राविधिक विषयको समकक्षता दिन रोक लगाएको छ । उक्त कार्यविधिको दफा १० को देहाय (क)१ मा भनिएको छ–‘विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, चिकित्सा, वन, कृषि, सूचना प्रविधि जस्ता प्राविधिक विषयमा खुला तथा दूर शिक्षाको माध्यम (ओपन एण्ड डिस्टेन्स मोड), अनलाइन, प्राइभेटबाट हासिल गरको उपाधिलाई मान्यता तथा समकक्षता प्रदान गरिनेछैन’ प्रतिवन्धात्मक वाक्याशंमा “तर खुला तथा दूरशिक्षा सञ्चालन गर्ने खास स्थापित विश्वविद्यालय तथा शैक्षिक संस्थाले विश्वविद्यालयको क्षेत्राधिकारभित्रको स्वीकृत अध्ययन केन्द्रमा भर्ना भई विषय प्रकृति अनुरुप प्रयोगात्मक कार्यहरुसमेत गरी उपाधी प्रदान गरेको भएमा प्राविधिक विषयमा समेत मान्यता प्रदान गर्न वाधा पारेको मानिने छैन । यसका लागि निवेदकले आवश्यक प्रमाणिक कागजात निवेदन साथ संलग्न गर्नुपर्नेछ । यस्तो मान्यता तता समकक्षता पत्रमा खुला तथा दूर शिक्षाको मान्यता भनेर उल्लेख गरिने छ ।’ भन्ने उल्लेख रहेको छ ।
पहिलो कुरा ग्लोबल युनिभर्सिटी, नागाल्याण्ड भारतबाट ल्याइएको माष्टर अफ साइन्स(एम.एस.सी.) रिमोट सेन्सिङ विषयको Syllabus मा प्राक्टिकल नै समावेश छैन, थ्योरीमात्र छ । उक्त विश्वविद्यालयको स्वीकृत अध्ययन केन्द्र नेपालमा छैन । नेपालमा सरकारी सेवामा रहेर दैनिक हाजिर गरी कामकाज गरिरहेका बिदा नलिएका कर्मचारीलाई भारतको नागाल्याण्डमा महिनौं प्राक्टिकल गर्न संभव नै छैन ।
त्यसका अतिरिक्त उक्त विश्वविद्यालयको NO.GOUN/2-23/16 VOL VII/15/ 24th October, 2024 को पत्रबाट ग्लोबल ओपन यूनिभर्सिटीको माष्टर अफ साइन्स(एम.एस.सी.) रिमोट सेन्सिङ विषयको कोर्षमा प्राक्टिकल विषय समावेश नभएको, यो कोर्ष थ्यौरी विषयमात्र राखी डिजाइन गरिएको भनी स्पष्ट लेखिआएको छ ।
नेपालबाट विद्यार्थी भर्ना गराउने, परीक्षा सञ्चालन गरे जस्तो गर्ने लब्धाङ्क पत्र र सर्टिफिकेट ल्याइदिने सबै जिम्मा सिटी स्कुल, कोटेश्वरका सञ्चालक यशोधामा त्रिपाठी र निजका भाइ अशोक त्रिपाठीले गर्दछन् ।
यो वास्तवमा कुनै पढेर ल्याइएको सर्टिफिकेट होइन । रिमोट सेन्सिङ र जीआईएस जस्तो दैनिक प्रक्टिकल गर्नुपर्ने प्राविधिक विषयमा युनिभर्सिटीको रेकर्ड मिलाएर किनेर ल्याइएको सर्टिफिकेट हो । यसमा त्रिपाठी दाजुभाइले धन्दा चलाइरहेका छन् ।
प्रमुख नापी अधिकृत कैलाशनाथ पाण्डेले बढुवा हुँदा पेश गरेका Bachelor of Science (B.Sc.) (Hons.) in Environmental Science / Master of Science (M.Sc.) Remote Sensing दुवै सर्टिफिकेट ग्लोबल युनिभर्सिटी नागाल्याण्ड भारतबाट किनेर ल्याइएका हुन् । Bachelor of Science (B.Sc.) (Hons.) in Environmental Science राजपत्रांकित तृतीय श्रेणी (नापी अधिकृत वा सो सरह) को पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नै होइन ।
माष्टर अफ साइन्स(एम.एस.सी.) रिमोट सेन्सिङलाई त्रिभुवन विश्वविद्यालयले २०७५ सालबाटै समकक्षता र मान्यता दिन बन्द गरी २०७८ सालमा कार्यविधि नै बनाएर बिधिवत रुपमा बन्द गरेको छ । तर नापी कार्यालय भैरहवाका नापी अधिकृत सुग्रीव यादवले पाण्डेको बढुवाको चाजोपाँजो मिलाएका थिए । नापी अधिकृत सुग्रीव यादव यस्ता पात्र हुन् जो सर्वेक्षक हुँदा सधैं नापी अधिकृत कार्यालय प्रमुख रहने ठाउँमा कार्यालय प्रमुख भएर रहे, नापी अधिकृत भएपछि सधैं प्रमुख नापी अधिकृतको कुर्सीमा बसे हाल ‘क’ श्रेणीको नापी कार्यालयमा प्रमुख नापी अधिकृतको कुर्सीमा बसेका छन् ।
सुदूरपश्चिमको चन्दको छोरी विवाह गरेका यादव त्यतातिरका ज्वाइँ मानिन्छन् । त्यसैले सहसचिव गणेशप्रसाद भट्ट लगायत नापीका पश्चिमका सहसचिवहरुले यसमा साथ दिएका थिए ।
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको प. सं. १.१-प्र-२०७७–७८–१(१)१३ च.नं.६४५ मिति २०७८–०८–०६ को पत्रबाट ग्लोबल युनिभर्सिटी नागाल्याण्ड भारत लगायतको नाम उल्लेख गरी मिलेमतोमा विषय नै उल्लेख नगरी यी नाटक मञ्चन गरी युनिभर्सिटीको समक्षता निर्धारण भए–नभएको सोधिएको छ ।
कुनै विषयको समकक्षता हुन्छ कँही नपाएर युनिभर्सिटीको समकक्षता हुन्छ ? र त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रको प.सं. ५९२३–०७८–०७९ मिति २०७८–०८–०९ को पत्रबाट ग्लोबल युनिभर्सिटी नागाल्याण्ड भारत लगायतले मान्यता पाएको दुई लाईनको पत्र पठाई नाटक गरियो । कार्यविधिमा उल्लेखित कुरा, प्राक्टिकलको कुरा सबै लुकाइयो । माष्टर अफ साइन्स(एम.एस.सी.) रिमोट सेन्सिङलाई मान्यता र समकक्षता नदिइएको कुरा लुकाइएको र सोही मिलेमतोमा आदान प्रदान भएको पत्रको आधारमा कैलाशनाथ पाण्डेलाई बढुवा गरिएको थियो ।
यसमा भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका तत्कालीन सचिव, सहसचिव, त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कर्मचारी पदाधिकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका तात्कालिन सचिव, बढुवा शाखाका कर्मचारी सबैलाई मिलाउने काम नापी अधिकृत सुग्रिव यादवले गरेका थिए । यसपालिको बढुवा सूचना बमोजिम कैलाशनाथ पाण्डेको जस्तै शैक्षिक योग्यता भएका राजपत्रांकित तृतीय श्रेणी (नापी अधिकृत वा सो सरह) को पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नै नभएका सिनियर नापी तालिमसमेत नभएका, त्रिभुवन विश्वविद्यालयको समकक्षता र मान्यता नभएको सर्टिफिकेटबाट बढुवा हुन शक्तिकेन्द्र धाइरहेका छन् नापी अधिकृत सुग्रिव यादव । यस्ता विवादित पात्रलाई पढ्दै नपढी किनेर ल्याएको प्रमाणपत्रको आधारमा बढुवा गर्न भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव र सहसचिव गणेशप्रसाद भट्ट ज्यान फालेर लागेका छन् । विदेशमा पढेर आफ्नो क्षमताले सहसचिव भएका गणेशप्रसाद भट्टले यस्तो विकृतिलाई वढावा दिन ज्यान फालेकोमा नापी विभागका जियोमेटिक्स इन्जिनियरहरु चकित परेका छन् ।
नापी विभागका क्षमतावान अधिकृतहरुको भनाइ छ–यसरी सर्टिफिकेट किनेर ल्याउने गैरकानूनी कार्यलाई बढुवा दिंदै जाने हो भने नापी विभागका जियोमेटिक्स इन्जिनियरहरु (नापी अधिकृतहरु) कहिल्यै बढुवा हुँदैनन् ।
यस्तै नपढी सर्टिफिकेट ल्याउनेमात्र बढुवा हुन्छन् । २०६८ भदौ १२ अघि सेवा प्रवेश गरेका ब्यक्तिहरु सबैको हातहातमा यस प्रकारको सर्टिफिकेट रहेको छ । यसप्रकारको विकृति रोक्न जरुरी छ ।
ग्लोबल युनिभर्सिटी नागाल्याण्ड भारतबाट Master of Science (M.Sc.) Remote Sensing विषयको प्रमाणपत्र ल्याएर यसपटक बढुवा फाराम भर्नेहरुको नामावली यस प्रकार छ :
सि. नं. | नाम थर | मान्यता तथा समकक्षता भए/नभएको | कैफियत |
१ | जनक ओझा | भएको | |
२ | राजमान श्रेष्ठ | नभएको | |
३ | राजु द्धिवेदी | नभएको | |
४ | धर्मराज ओझा | नभएको | |
५ | शिव प्रसाद जोशी | नभएको | |
६ | दिलिप सिंह | नभएको | |
७ | सुग्रिव यादव | नभएको | राजपत्रांकित तृतीय श्रेणी (नापी अधिकृत वा सो सरह)को पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नपुगेको।GLOBAL OPEN UNIVERSITY, Nagaland, IndiaकोB.Sc. Environment Scienceस्नातक र Master of Science (M.Sc.) Remote Sensingस्नातकोत्तरदुवै तहको मान्यतारसमकक्षता नभएको, सिनियर नापी तालिम समेत नभएको। |
सि.नं. २,३,४,५,६ र ७ को GLOBAL OPEN UNIVERSITY, Nagaland, Indiaको Master of Science (M.Sc.) Remote Sensingको मान्यता र समकक्षता नभएकोले माथिल्लो शैक्षिक योग्यताको अंक ३ (तीन) दिन नमिल्ने। सि.नं. ७ को B.Sc. Environment Scienceभएको, सिनियर नापी तालिम समेत नभएकोलेनापी अधिकृतको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नपुगेकोले संभाब्य उमेद्वार हुन नसक्ने। |