पोखरा । हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा कास्की प्रहरीले फेरि डा। निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ ।
गत पुस ८ गते प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो । सोही दिन विद्युतीय अपराधको मुद्धामा उनलाई म्याद थपका लागि अदालत समेत लगिएको थियो । तर उक्त दिन म्याद थप गर्न अदालतले इन्कार गरेको थियो ।
त्यतिबेला न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थिएन । अदालतले आदेश नदिएपछि भुसाललाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्नेगरि सोही दिन नै रिहा गरिएको थियो ।
लामिछानेसहितका प्रतिवादीहरु अदालतले धरौटीमा रिहा गरेपछि काठमाण्डौ गइसकेका छन । उनै लामिछानेको तस्बिर खिचेका भुसाललाई भने प्रहरीले सोही मुद्धामा पुनः पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले भुसाल प्रहरी हिरासतमा रहेको बताए । उनका अनुसार अदालतमा पत्र बुझाएपछि भुसाललाई नियन्त्रणमा लिइएको हो ।