Logo
Logo

फिल्म ‘कार्साङ’प्रति शेर्पा समुदायद्वारा आपत्ति, कथावस्तु सच्चाउन माग


1.5k
Shares

काठमाडौं । शेर्पा समुदायको गलत कथावस्तु प्रस्तुत गरेको भन्दै नेपाली फिल्म ‘कार्साङ’प्रति शेर्पा समुदायले आपत्ति जनाएको छ । फिल्ममा देखाइएको ‘बलि’ र ‘छेवर’आफूहरूको संस्कार र संस्कृतिभित्र नरहेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

शेर्पा चलचित्र संघले विज्ञप्ति जारी गर्दै फिल्ममा शेर्पा संस्कृति र परम्पराको दुरुपयोग गरेको भन्दै सार्वजनिकरूपमा माफी माग्न माग गरेको छ । ‘शेर्पाहरू बुद्ध धर्ममा आस्था राख्ने समुदाय हो । बलि दिने प्रथा शेर्पा समुदायको हो भन्नु गलत हो’, विज्ञप्तिमा भनिएको छ ।

शेर्पा समुदायको विरोध भएपछि निर्माण पक्षले ‘शेर्पा संस्कृतिमा आधारित’ भन्ने वाक्यांश चलचित्रको ब्यानरबाट हटाएको छ । चलचित्रको निर्देशक तथा लेखकसमेत रहेको याम शेर्पाले कथावस्तु समग्र शेर्पा समुदायको नभएर एउटा भूगोलको मात्रै रहेको दाबी गरेका छन् ।

उनका अनुसार सिन्धुपाल्चोक जिल्लाको यार्सा गाउँका शेर्पा समुदायको संस्कार–संस्कृतिमा चलचित्र निर्माण भएको हो । शेर्पा समुदायका अगुवाले भने कालान्तरमा यो फिल्म शेर्पा समुदायको परम्परा र संस्कृति बुझ्ने एउटा आँखीझ्यालको रूपमा स्थापित हुने भएको हुँदा यस्ता गलत कथावस्तु अहिले नै सच्याउनुपर्ने बताएका छन् ।

चलचित्रका कलाकारले विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिने क्रममा यो शेर्पा समुदायको पहिलो फिल्म रहेको समेत दाबी गर्दै आएका छन् । तर, शेर्पा समुदायका अगुवाले भने यसको आपत्ति जनाएका छन् ।

गत पुस २६ गतेदेखि प्रदर्शन भइरहको ‘कार्साङ’मा दयाहाङ राई शीर्ष भूमिकामा छन् । साथै, फिल्ममा जितु नेपाल, सिर्जना निङ्लेखु, दिया मास्के र बुद्धि तामाङले पनि मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्