Logo
Logo

दुग्ध विकास संस्थानले महानगरलाई तिर्यो १ करोड सम्पत्ति कर


252
Shares

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले एक करोड दुई लाख ८७ हजार ९२६ सम्पत्ति कर महानगरलाई तिरेको हो ।

महानगर–२६ सचिव केदार रिमालका अनुसार संस्थानले आर्थिक वर्ष २०४९/५० देखि आव २०८१/८२ सम्मको घरजग्गा÷सम्पत्ति कर बुझाएको हो ।

संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक सङ्घसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले यसअघिनै पत्राचार गरिसकेको छ ।

महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा सङ्कलन प्रक्रियाबारे व्यवस्था गर्दै आएको छ ।

जसअनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा÷सम्पत्ति कर गणना हुने व्यवस्था रहेको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए ।

’पत्राचारपछि करदाताहरु सम्पर्कमा आउने क्रम सुरु भएको छ। यो सकारात्मक पक्ष हो । आर्थिक ऐनले गरेको बक्यौता कर असुलीसम्बन्धी व्यवस्थाबमोजिम राजस्व असुल गरिनेछ,’ उनले भने ।

ऐनबमोजिम कर दाखिला नगर्ने करदातालाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक ३५ दिनको समय तोकी पत्र, इमेल, वा म्यासेजमार्फत जानकारी गराउने उनको भनाइ छ ।

समय अपुग भएर थप समय माग गरेमा राजस्व विभागका प्रमुखको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले बढीमा १० दिनसम्म अवधि थप गर्नसक्ने व्यवस्था रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्