Logo
Logo

आइटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी


252
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आइटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने गर्ने भएको छ । सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आइटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्ने गरी रणनीतिक लक्ष्य तय गरेको हो । 

आइटी, सफट्वेर एन्ड टेक्नोलोजी समिति मार्फत चेम्बरले आइटी उद्योगमा लगानीको खोजी एवं उद्यमशीलता विकासका लागि पहल गर्नेछ । चेम्बरले यसका लागि आइटी उद्यमीहरूसँग एक चरण छलफल समेत गरिसकेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागी आइटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए । 

उनले भने, ‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण श्रोत अव आइटी उद्योग हो, सरकारले पनि आगामी १ दशकमा वार्षिक ३० खर्व भित्र्याउने लक्ष्य सहित कार्ययोजना तय गरेको छ । सूचना प्रविधि उद्योगको विकासका लागि लगानी जुटाउने देखि अन्तर्राष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्नेछ, ।’ सर्वसाधारणको लगानी जुटाएर आइटी उद्योगको स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाई छ । 

अन्तर्राष्ट्रिय आइटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मक रूपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसरको खोजी गरिनुपर्ने उनले बताए । नेपालका युवाहरूलाई आइटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्ने समेत अध्यक्ष अग्रवालले बताए । 

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणामा कम्पनी खडा गरेर आइटी उद्योगको विकासमा लाग्नुपर्ने बताए । अन्तर्राष्ट्रिय ठुला ठुला कम्पनीको व्याकअपका रूपमा स्वदेशमै बसेर काम गर्न सकिने निवर्तमान अध्यक्ष मल्लको भनाई छ । चेम्बरको आइटी सफ्टवेयर एन्ड टेक्नोलोजी कमिटीका सभापति विज्ञान श्रेष्ठले आइटी उद्योगको विकास र विस्तारका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । युवाहरूको नवप्रवर्द्धन आइडिया र सोचलाई सार्थक बनाउन लगानीको पहुँच वृद्धि गरिनुपर्नेमा जोड श्रेष्ठले जोड दिए  । 

प्रतिक्रिया दिनुहोस्