मोरङ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले सरकारले ल्याएको पाँच वटा अध्यादेश फिर्ता लिई सदन भित्रबाट विधेयक पारित गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले सात राजनीतिक दलको उपस्थिति एवं एकदलको समर्थनमा आज बसेको बैठकले अध्यादेशको विरोधमा संयुक्त वक्तव्य जारी गरेको जानकारी दिए ।
अध्यक्ष दाहालले पार्टीका केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरुको सम्पत्ति विवरण बुझाउन निर्देशन दिनुका साथै सम्पत्ति र जीविका सञ्चालनको स्रोतको खोजी गरिने बताए । उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको आग्रहअनुसार पार्टीको छलफलमा सहभागी गराइएको बताए ।
अध्यक्ष दाहाल यही माघ ५ गते विराटनगरको न्यू सृष्टि दैनिकको वार्षिकोत्सव र मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभामा सहभागी हुन आएका हुन् ।