काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं सांसद माधव सापकोटाले नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पतन सुरु भइसकेको बताएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबीसेमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै नेता सापकोटाले राजनीतिक ढंगले स्वस्थ प्रतिस्पर्धामा आउन चुनौती दिए । ‘३२ इन्चको तिघ्रा भएको ठूलो ह्याट लगाएको मान्छेले यतिका वर्षसम्म गरेको चाहिँ के छ ? उहाँले धाकभन्दा धक्कु ठूलो भने जस्तै गरिराख्नुभएको छ ।’
उनोले थपे, ‘तपाईंको पतनको यात्रा सुरु भइसकेको छ । यसलाई रोकेर बुद्धिमतापूर्ण ढंगले ज्ञानको आयातन बढाएर आउनुहुन्छ, स्वस्थ प्रकारको प्रतिस्पर्धा गर्न हामी तयार छौं । पुरानै तरिकाले दायाँबायाँ गरेर आउन चाहनुहुन्छ भने तपाईं प्रतिस्पर्धा त के छेउ पनि पर्न सक्नुहुन्न ।’
उनले आफू र माओवादीले चुनावी प्रतिबद्धताअनुसार काम गरेको दाबी गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको भ्रष्ट सरकारले गरेको कुकर्मको भण्डाफोर गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।