Logo
Logo

युद्धविराम सफल नभए हमासविरुद्ध पुनः आक्रमण थाल्ने नेतान्याहुको चेतावनी


378
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम सफल नभए हमासविरुद्ध पुनः आक्रमण थाल्ने चेतावनी दिएका छन्।

गाजा युद्धविराम र बन्धक रिहाई सम्झौताको कार्यान्वयनअघि शनिबार राति एक टेलिभिजनमा नेतान्याहुले युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार राखेको बताएका हुन् ।

उनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प यसमा आफूसँगै रहेको पनि बताएका छन् । नेतान्याहुले यसअघि हमासद्वारा रिहा गर्ने बन्धकहरूको सूची प्राप्त नगरेसम्म इजरायलले सम्झौता कार्यान्वयन नगर्ने बताएका थिए ।

हमासले रिहा गर्ने ३३ बन्धकहरूको सूची इजरायली मिडियाले यसअघि नै जारी गरिसकेको छ । तर अधिकारीहरूले भने यसको पुष्टि गरेका छैनन् ।

इजरायली अधिकारीहरूले आज (आइतवार) रिहा हुने तीनजना बन्धकको नाम अझै प्राप्त नभएको बताएका छन् ।
सहमतिअनुसार आगामी केही हप्तामा इजरायलले ३३ इजरायली बन्धकहरूको सट्टामा १ हजार ८९० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

युद्धविराम तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई रिहा गरिनेछ ।

त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ । इजरायल र हमासबीचको युद्धविराम सम्झौता स्थानीय समयअनुसार आज (आइतबार) बिहान ८ बजेदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्