काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी पुरक मुद्धा जिल्ला अदालतमा दर्ता गर्दैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारवाही र बिगो माग गर्दै सरकारी वकिलले रुपन्देही अदालतमा पूरक मुद्धा दर्ता गर्न लागेको हो ।
यसअघि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएको भन्दै सरकारी वकिलले शुक्रबार अदालतमा पूरक मुद्धा लैजान नसकेको जनाएको थियो ।
आज (आइतबार) भने कार्यालय खुलेपछि लामिछाने र जोशी लगायत १४ जना विरुद्ध पुरक मुद्धा अदालतमा दर्ता गरिने जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।
त्यतिबेला सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो । त्यसमध्ये १७ जनालाई पनि सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो थपसहितको मुद्दा दर्ताको लागि बिहीवार अदालतमा पेश गरेको थियो ।
आइतबार लैजाने पूरक मुद्धामा सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जिबी राई सम्बद्धहरुको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।
यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गरेको हो ।