Logo
Logo

पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको आरोपमा तीनजना पक्राउ


882
Shares

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता उद्धव थापामाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाली कांग्रेस संसदीय दल कोशी प्रदेशका नेतासमेत रहेका थापामाथि शनिबार गृहजिल्ला झापामा आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको छ । एकजना भने विद्युत् प्राधिकरणका चालक रहेको बताइएको छ । उनीहरूमाथि सोधपुछ भइरहेको एसपी केसीले बताए ।

नेता थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिबार साँझ हातपात भएको थियो । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि हातपात गरेको प्रहरीले जनाएको छ ।

बा १ झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा १ झ १८७० मा सवार एक समूहले हातपात गरेको प्रहरीले जनाएको छ । हातपातका क्रममा थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको छ । बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि थापा घर फर्किएका छन् ।

विद्युत् प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद हुँदा ती चालकले थापामाथि हातपात गरेको प्रत्यक्षदर्सीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्