Logo
Logo

सशस्त्र प्रहरीमा हाकिममाथि कुन बढ्दैछ कुटपिट ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ असार ।
सुरक्षा संगठनमा कडा अनुशासन हुन्छ । तर, सशस्त्र प्रहरी बलमा भने कमान्डरविरुद्ध मातहतका प्रहरी कर्मचारीले कुटपिट गर्ने क्रम बढ्न थालेको छ । लकडाउनको अवधिमा मात्रै कमान्डरमाथि दुई कार्यालयमा कुटपिट भएका छन् ।

सशस्त्र प्रहरीका अनुसार गत ८ वैशाखमा कपिलवस्तुको भैरहवामा सशस्त्र प्रहरीका डिएसपी मानबहादुर शाहीलाई मातहतका दुई सशस्त्र प्रहरी निरीक्षक दयाराम पौडेल र केशवराज भट्टराईले कुटपिट गरेका थिए । २७ जेठमा भने कैलालीस्थित भुइयाफाँट बिओपी (बोर्डर आउट पोस्ट)का कमान्डर सशस्त्र प्रहरीका सइ रामबहादुर टेरलाई सशस्त्र प्रहरी जवान जितेन्द्र भट्ट र दीपक बोगटीले कुटेका थिए । रासनको निहुँ बनाइएको दुवै घटनामा मादक पदार्थ सेवनपछि मातहतका प्रहरी कर्मचारीले कमान्डरविरुद्ध विद्रोह गरेका थिए । यस क्रममा सशस्त्र प्रहरीका डिएसपी शाही मातहतका दुई प्रहरी निरीक्षकबाट मरणासन्न हुने गरी कुटिएका थिए । विद्रोहमा परेका अर्का सइ टेर पनि दुई सिपाहीबाट घाइते हुने गरी कुटिएका थिए ।

सशस्त्र प्रहरी स्रोतका अनुसार डिएसपीलाई कुटपिट गर्ने दुई प्रहरी निरीक्षकमाथि कारबाही ढिला हुँदा कैलाली घटना भएको हो । स्रोतले भन्यो, ‘भैरहवामा डिएसपी शाहीलाई दुई इन्स्पेक्टरले कुटे । उनीहरूलाई कारबाही भएन । यसले अन्यलाई प्रोत्साहन ग¥यो । सोही घटनमा कैलालीस्थित बिओपीमा दोहोरियो । त्यहाँ पनि कारबाही हुने छाँट छैन । यस्तै रहे अब कहाँ–कहाँ कमान्डर कुटिन्छन् ? ठेगान छैन ।’

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले घटना भएको र कारबाही प्रक्रियामा रहेको बताए । उनले भने, ‘भैरहवा र कैलालीको घटनाबारे हामी जानकार छौँ । सशस्त्रमा कारबाही गर्ने आफ्नै प्रक्रिया छन् । प्रक्रियामा जाँदा केही ढिलाजस्तो देखिएला । तर, कारबाही रोकिएको या नभएको भन्ने होइन । दुवै घटनामा अनुसन्धान हुँदै छ । यस क्रममा गरिनुपर्ने प्रक्रिया सबै गरिएका छन् । परिणाम पछि आउला ।’

सुधारको प्रयासपछि डिएसपीमाथि कुटपिट

सशस्त्र प्रहरी स्रोतका अनुसार डिएसपी शाही केही महिनाअघि मात्रै रूपन्देहीस्थित सशस्त्र प्रहरीको गुल्म सम्हाल्न पुगेका थिए । मतहतका प्रहरी कर्मचारीको अचारण शंकास्पद देखिएपछि गुल्मपति शाहीले केही सुधारका प्रयास गरेका थिए । तर, उनको कदमलाई मातहत रहेका सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईलाई ठीक लागिरहेको थिएन । प्राविधिकबाट सेवा सुरु गरेका भट्टराई विगत १२ वर्षदेखि सोही गुल्ममा कार्यरत थिए । डिएसपी शाहीविरुद्ध रुष्ट बनेका भट्टराई ८ वैशाखको साँझ ड्यिुटी छाडेर सहकर्मी सशस्त्र प्रहरी निरीक्षक दयाराम पौडेल नजिकैको रेस्टुरेन्ट गएर मादक पदार्थ सेवन गरे, अनि राति अबेर गुल्मभित्र छिरे । गतिविधि निगरानी गरिराखेका डिएसपी शाहीले दुवैलाई कार्यालयमा लगेर स्पष्टीकरण लिन खोजे ।

यही क्रममा प्रहरी निरीक्षक भट्टराई र पौडेलले रासनको विषय झिके । यही विषयमा डिएसपी र प्रहरी निरीक्षकबीच विवाद भयो । विवाद कुटपिटमा बदलियो । तर, कारबाही प्रक्रिया अझै प्रभावकारी रूपमा अघि बढेको छैन । सशस्त्र प्रहरी स्रोतका अनुसार राजनीतिक दबाबका कारण घटनामा संलग्न दुई प्रहरी निरीक्षकविरुद्ध कारबाही प्रक्रिया अघि नबढेको हो । राजनीतिक दबाबकै कारण दुई प्रहरी निरीक्षकको ठाउँमा कुटाइ खाने डिएसपी शाहीविरुद्ध कारबाही गर्ने चरणमा सशस्त्र प्रहरी मुख्यालय पुगेको छ ।

सइमाथि जवान जाइलागे

कैलालीको भुइयाफाँटास्थित भारतीय सीमानाकानजिकै स्थापित बिओपीको कमान्डरको जिम्मा सशस्त्र प्रहरीका सइ रामबहादुर टेरले पाएका थिए । उनीमातहत १२ प्रहरी कार्यरत थिए । यही क्रममा मातहतका प्रहरी जवान जितेन्द्र भट्ट र दीपक बोगटीले सइ टेरमाथि रासन खाएको आरोप लगाए । मादक पदार्थ सेवन गरी आएका भट्ट र बोगटीसँग सइ टेरको विवाद भयो । यही क्रममा दुई जवानले सइ टेरमाथि आक्रमण गरे । आक्रमणमा परी सइ टेरसहित ६ प्रहरी कर्मचारी घाइते भए । तर, कारबाही प्रक्रिया यहाँ पनि प्रभावकारी ढंगले अघि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस्