एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा आइतबार एक डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन् ।
बिहारको राजधानी पटनाबाट करिब ३२५ किलोमिटर पूर्वमा कटिहार जिल्लाको मनिहारी क्षेत्रमा रहेको गङ्गा नदीमा डुङ्गा पल्टिएको हो । अधिकारीहरुका अनुसार केही मानिसहरु पौडी खेलेर सुरक्षित स्थानमा पुगेका थिए ।
एक प्रहरी अधिकारीले भने, ‘आज यहाँको गङ्गा नदीमा १७ जना बोकेको डुङ्गा पल्टिएको छ । हामीले तीन जनाको शव निकालेका छौँ र चारजना बेपत्ता छन्, जसको खोजी कार्य जारी छ ।’
प्रहरीका अनुसार मारिनेहरू स्थानीय किसानहरू हुन्, जसले बिहान आफ्नो खेतमा पुग्न डुङ्गा प्रयोग गरेका थिए । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।
भारतमा डुङ्गा पल्टिने घटनाहरू सामान्य छन् । यहाँ धेरै मानिसहरू विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरूले परम्परागत रूपमा बनाइएका डुङ्गाहरूलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्छन् ।