Logo
Logo

रूपन्देही अदालतमा कहिले उपस्थित हुँदैछन् रवि लामिछाने ?


1.9k
Shares

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणका प्रतिवादी रास्वपा सभापति रवि लामिछाने आज सोमबार अदालतमा उपस्थित नहुने भएका छन् ।

रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा आज रुपन्देही जाने पूर्व तयारीमा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने काठमाडौंमै रोकिएका हुन् ।

आइतबार ढिलो गरी रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका उनी अदालतमा आफैं उपस्थित हुने तयारीमा थिए ।

आइतबार ढिला मात्रै मुद्दा दर्ता भएकाले सोमबार बुटवल जान सम्भव नभएको लामिछानेको सचिवालयमा रहेका अविनाश आचार्यले बताए ।

उनका अनुसार लामिछानेले आज कानुनविद्सँग सल्लाह गर्दैछन् । सम्भवतः उनी आज साँझसम्म रुपन्देही जाने र मङ्गलवार बिहान सुरुमै अदालतमा उपस्थित हुनेगरी तयारी भइरहेको छ ।

सरकारी वकिलको कार्यालयले आइतबार लामिछोसहित १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन दर्ता गरेको हो । अभियोग पत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ ।

लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ । प्रहरीको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले झन्डै दर्जन तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो ।

यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो ।

जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीवी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको जानकारी दिए ।

सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ । यो नयाँ मुद्दा हो । सरकारी वकिलको कार्यालयले थप कसुर र बिगोसहितको १७ जनाविरुद्धको मुद्दा बिहीबारै अदालत लगेको थियो । लामिछानेसहितको पूरक अभियोजन आइतबार मात्र अदालत पठाएको हो ।

सुप्रिम सहकारीका १ हजार ८ सय ७२ जना बचतकर्ताले रविसहितविरुद्ध जाहेरी दिएका थिए । जसमा सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको प्रहरी अनुसन्धानमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्