Logo
Logo

गाजामा युद्धविराम: कहिले रिहा होलान् विपिन ?


189
Shares

काठमाडौं । प्यालेस्टिनी समूह हमासले पहिलो चरणमा रिहा गर्ने बन्धकको सूची दिएसँगै गाजामा युद्धविराम लागू भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै युद्धविराम लागू भएको जनाएको हो ।

हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची दिएपछि इजरायलले सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।

युद्धविराम भएको पहिलो दिन आइतबार तीन बन्धक रिहा भएका छन् । डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेन आइतबार साँझ रिहा भएका हुन् ।

उनीहरू तीनै जनालाई रेडक्रसको टोलीले गाजाबाट इजरायल ल्याएको हो । इजरायलका अनुसार उनीहरू तीनै जना २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा थिए । इजरायलले पनि महिला र बालबालिकासहित ९० जना प्यालेस्टिनी कैदीहरू रिहा गरेको छ ।

कतारसहित अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको हो । युद्धविरामको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका विषयमा पहिलो चरणको १६ औं दिनदेखि थप छलफल गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार दोस्रो चरणमा गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने र त्यसको सट्टा हमासले सैनिकलगायत थप बन्दी रिहा गर्नेछ । तेस्रो चरणमा अन्तर्राष्ट्रिय पर्यवेक्षणमा गाजामा गरिने ३ देखि ५ वर्षे पुनर्निर्माण योजनाको बदलामा हमासले बाँकी बन्धक वा शव फिर्ता गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्