Logo
Logo

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषय : अर्थमन्त्री


252
Shares

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् ।

कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताए । ‘पछिल्लो दिनहरुमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ’, अर्थमन्त्री पौडेलले भने ।

उनले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत निर्देशन दिए । ‘बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ । तर हामी यसैमा रमाएर बस्ने होइन । अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि बढ्नुपर्छ’, अर्थमन्त्री पौडेलले भने, ‘व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव हामीसँग छ । यसकारण बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध जीवन्त हुनुपर्छ ।’ कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताए । यद्यपि, बैंकहरुले कर्जा असुलीमा केही समस्या भोगिरहेको उनले स्वीकार गरे ।

‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरु हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ । बाह्य क्षेत्रमा सन्तुलन छ । बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै छ । बैंकमा तरलता पर्याप्त छ । ब्याजदर घटेको छ’, गभर्नर अधिकारीले भने, ‘गतवर्षको तुलनामा भन्दा सरकारी राजस्व बढेको छ । आयात–निर्यात बढ्न थालेको छ । पछिल्लो समय पुँजी निर्माणसँग सम्बन्धित सामानहरुको आयात बढेको छ । यसकारण हामी निरुत्साहित हुनुहुँदैन । हाम्रा सकारात्मक पक्ष धेरै छन् ।’

बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा भने केही समस्या देखिएका कारण यसले खराब कर्जा बढाएको उनको भनाइ थियो । ‘अर्थतन्त्र लामो समय शिथिल भएका कारण र पछिल्लो समय केही अराजक गतिविधि गर्ने तथा ऋण नतिर्ने भनेर अभियान चलाउने व्यक्ति र समूहका कारण कर्जा असुलीमा समस्या भएको छ । यसले दीर्घकालमा कति असर पार्छ भने कुरामा हामी सजग छौँ’, गभर्नर अधिकारीले भने ।

कृषि विकास बैंकको व्यवस्थापन र कार्यक्षमता अब्बल रहेकोसमेत गभर्नर अधिकारीले बताए । नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने नेतृत्व कृषि विकास बैंकले गरिरहेको उनको भनाइ थियो । बैंकिङ प्रणालीबाट कृषि क्षेत्रमा भएको लगानीमा यो बैंकको मुख्य योगदान रहेको गभर्नर अधिकारीले बताए । वित्तीय समावेशीता प्रवद्र्धन, ग्रीन फाइनान्स, प्रविधिप्रयोग लगायतका विषयमा बैंकले राम्रो गरिरहेको उनले बताए ।

बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे । आधुनिक बैंकिङ सुविधा, संस्थागन सुशासन, सुरक्षित तरिकाले सूचना प्रविधिको उच्चतम प्रयोग, लगानीमैत्री नीतिलगायतका माध्यमबाट व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्र्रवाहमा विशेष ध्यान पु¥याएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्