Logo
Logo

सुत्केरीलाई कोराना भेटिएपछि तीन गाउँ सिल


- दृष्टि न्युज/संवाददाता

0
Shares

गुल्मी, ७ असार । एकजना सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिएका छन् ।
सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ । सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताए ।
ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकामा शनिबार पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
सुत्केरीका श्रीमान् गत जेठ ११ गते भारतबाट घर आउनुभएको थियो । भारतबाट आएर १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि उहाँको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई जेठ २७ गते घर पठाइएको थियो । क्वारेन्टिनबाट घर गएको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्