Logo
Logo

कोलम्बियामा सशस्त्र झडपमा परी चार दिनमा ८० जनाको मृत्यु, हजारौँ विस्थापित


189
Shares

एजेन्सी । कोलम्बियामा शान्ति प्रक्रिया ठप्प भइरहेका बेला ससस्त्र लडाकूबीच नयाँ श्रृङ्खला बिस्तार भएपछि चार दिनमा सर्वसाधारणसहित ८० जनाभन्दा बढीको मृत्यु भएको छ ।

सशस्त्र झडपका घटनापछि करिब ११ हजार मानिस विस्थापित भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

त्यहाँका बासिन्दाहरू आफ्नो ज्यान जोगाउन भागेपछि सेनाले कोकिन खेती गर्ने क्याटाटुम्बो क्षेत्रमा करिब पाँच हजार सैनिक तैनाथ गरेको थियो ।

नेशनल लिबरेशन आर्मी (ईएलएन) सशस्त्र समूहले गत बिहीबार क्याटाटुम्बोमा पार्क गुरिल्ला फोर्सका भूतपूर्व सदस्यहरू सम्मिलित प्रतिद्वन्द्वी समूहमाथि आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।

नर्ते डी सान्तान्दर विभागका गभर्नर विलियम भिल्लामिजारका अनुसार हिंसात्मक घटनाका कारण नागरिकहरू ठाउठाउमा फसेका र आइतबारसम्ममा ‘८० जनाभन्दा बढीले ज्यान गुमाइसकेका’ अनुमान गरिएको छ ।

मोटरसाइकल, डुङ्गामा ब्याकप्याक र सामान बोकेका वा खुला ट्रकमा बसी हिंसाबाट त्रसित बासिन्दाहरू सप्ताहन्तमा यस क्षेत्रबाट भागेका थिए । आर्थिक र राजनीतिक उथलपुथलबाट गाउहरूबाट भागेर सयौँले तिबु शहरमा शरण लिएका थिए भने केही सीमा पार गरेर भेनेजुएला पुगेका थिए ।

भेनेजुएलाले ‘कोलम्बियाबाट विस्थापित व्यक्तिहरूको सहायताका लागि एक विशेष अभियान’ सुरु गरेको घोषणा गरेको कोलम्बिया सरकारले जनाएको छ ।

भेनेजुएला भागेका ४५ वर्षीय किसान जियोभान्नी भालेरोले भने, ‘कोलम्बियाली नागरिकको हैसियतले मेरो देश छोड्नु मेरो लागि पीडादायी छ ।क्याटाटुम्बोको अवस्था सुल्झिने छ र उनीहरू फर्कन सक्नेछन् भन्ने आशा विस्थापित सर्वसाधारणले गरेका छन् ।’

सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गरेका थिए ।

ईएलएन समूहले ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उनले अशान्तिको पछिल्लो श्रृङ्खलाको समयमा शुक्रबार उक्त समूहसँग वार्ता रोकेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्