Logo
Logo

काठमाडौं महानगरले दीर्घरोगको औषधि नियमित खाने ज्येष्ठ नागरिकको लगत सङ्कलन गर्दै


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकले सेवन गर्ने दीर्घरोगको औषधिसम्बन्धी लगत सङ्कलन गरिरहेको छ ।

दीर्घरोगीलाई औषधिको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित गएको पुस २२ गतेदेखि परिपत्र गरेर विभागले लगत सङ्कलन गरिरहेको हो । विवरण प्राप्त भएपछि दीर्घरोगीको स्वास्थ्य प्रवर्द्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुने विभागका प्रमुख दीपक केसीले जानकारी दिए ।

विभागले महानगरपालिकाकै पञ्जीकरण शाखाबाट गएको साउन १ गतेसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार ७७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ ।

मेडिकल अधिकृत डा। दिवश न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । अहिलेसम्म १ हजार ४९६ जनाको विवरण प्राप्त भइसकेको छ । विवरण प्राप्त भएकाहरूमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् ।

अहिले विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ३७ हजार ६५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको सङ्ख्या २३ हजार ७७० जना छ । धेरै उमेर हुनेमा ११० वर्ष उमेरको व्यक्ति हुनुहुन्छ । १ सय वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ४७ जना रहेको छ । ९० वर्षदेखि ९९ वर्षसम्मका ८६४ जना, ८० वर्षदेखि ८९ वर्षसम्मका ५ हजार ४८३ जना र ७० वर्षदेखि ७९ वर्षसम्मका १७ हजार ३७४ जना ज्येष्ठ नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्