Logo
Logo

महालक्ष्मी विकास बैंकमा फर्जी खाता खोलेर रकम ट्रान्सफर


1.4k
Shares

काठमाडौं । विकास बैंकहरुको विश्वसनीतामा प्रश्न उठेको छ । कर्णाली विकास बैंकमाथि अनेक प्रश्न उठेपछि उक्त बिकास बैंक डुबेको छ । त्यस्तै, महालक्ष्मी विकास पनि डुब्ने बाटोतिरै अगाडि बढेको छ । महालक्ष्मी विकास बैंकमाथि फर्जी खाता खोलेर रकम ट्रान्सफर गरेको आरोप लागेको छ ।

सिइओ दीपेश लम्साल र प्रबन्धक विकास रावल

कुनै पनि बैंकमा खाता संचालन गर्नको लागि प्रालिको संचालक समितिको निर्णय, करचुक्ता प्रमाण पत्र, प्रबन्धपत्र एवं नियमावली अनिवार्य रुपमा बैँकमा पेश गरेको हुनुपर्दछ अनि मात्र खाता खोलिन्छ । तर महालक्ष्मी विकास बैंकको बानेश्वर शाखाका प्रबन्धक विकास रावलले कुनै पनि कागजातबिना नै केपी कन्ष्ट्रक्सनको खाता खोलिएको छ ।

फर्जी खाता खोलेर महालक्ष्मी विकास बैंकले गएको पुस २५ गते केपी कन्सट्रक्सन एण्ड इन्टरप्राइजेज प्रा.लि.को नाममा जम्मा हुनुपर्ने चेक ब्यक्तिको खातामा जम्मा गरेका छन् । केपी कन्ष्ट्रक्सन कम्पनीको खाता नभएको महालक्ष्मी विकास बैंकको बानेश्वर शाखामा उक्त चेक जम्मा गरिएको छ । यस विषयमा अनुसन्धान गरी फर्जी कागजातका आधारमा नक्कली खाता खोलेर रकम सार्ने बैंकका शाखा प्रबन्धकदेखि प्रमुख कार्यकारी अधिकृतमाथि कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा २ माघ, २०८१ मा उजुरी परेको छ ।

केपी कन्स्ट्रक्सन एण्ड इन्टरप्राइजेज प्रालिको ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकमा मात्र बैंक खाता रहेको छ । महालक्ष्मी विकास बैंक लि.मा केपी कन्स्ट्रक्सन एण्ड इन्टरप्राइजेज प्रालिको कुनै पनि खाता खोलिएको छैन । तर महालक्ष्मी विकास बैंकले फर्जी खाता खोलेर रकम जम्मा गरेकाले कारबाहीको माग गर्दै करणप्रसाद कुशवाहाले जाहेरी दिएका छन् ।

केपी कन्स्ट्रक्सन एण्ड इन्टरप्राइजेज प्रालिलाई केएफए विजनेश स्कूल प्रालिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चेक नं ‘३०३०३३३१७०’०५०’ बाट रु. ३ लाखको चेक २०८१ पुस २५ को मिति राखी प्राप्त भएको थियो । उक्त चेक उक्त कम्पनीको संचालकको सहमतिविना प्रतिवादी विकास रावलले प्रयोग गरेका छन् ।

ग्लोबल आइएमई र एनआईसी एसिया बैंकमा जम्मा हुनुपर्ने चेक महालक्ष्मी विकास बैंकमा कसरी पुग्यो ? भन्ने प्रश्न गर्दै उजुरीकर्ता करण कुशवाहाले सीआईबीमा बैंकका अधिकारीलाई नियन्त्रणमा लिई छानबिन गर्न माग गरेका छन् ।

केपी कन्ष्ट्रक्सनका सञ्चालक कुशवाहाले बैंकका सिइओ दिपेश लम्सालको संलग्नतामा फर्जी कागजात प्रयोग गरी कम्पनीको नाममा कीर्ते कागजका आधारमा खाता खोलेर चेक जम्मा गरी रकम निकालिएको आरोप लगाएका छन् ।

महालक्ष्मी विकास बैंकले फर्जी खाता खोलेर रकम सारेपछि बैंकिङ प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । खाता नभएको बैंकमा नक्कली कागजात प्रयोग गरी खाता खोल्नु र चेक जम्मा गर्ने अपराध महालक्ष्मी विकास बैंकले गरेकाले कारबाही गर्न सीआइबीमा दर्ता गरेको उजुरीमा उल्लेख छ । बैंकमै यस्तो आपराधिक कामले प्रश्रय पायो भने सर्वसाधारणको बचत संकटमा पर्ने भएकाले यस्तो कार्यमा संलग्न बैंकका शाखा प्रबन्धकदेखि सिइओसम्मलाई कडा कारबाही हुनुपर्ने माग उजुरीमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्