Logo
Logo

इन्साइडर ट्रेडरलाई छुट ?


252
Shares

काठमाडौं । धितोपत्र बोर्डले अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले गरेको इन्साईडर टे«डिङ र अजोड इन्स्योरेन्सको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ)बारे चासो राख्दै उन्मुक्ति दिन तयारी गरेको छ । बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले यी दुई कम्पनी लगायतका अन्य तीन कम्पनीको इन्साइडर ट्रेडिङकर्तालाई उन्मुक्ति दिने तयारी गरेका छन् ।

इन्साइडर ट्रेडिङ गरेको पुष्टि भएपछि त्रितालले आफू सञ्चालक रहेका दुवै अपी पावर र इन्हवा हाइड्रोपावर कम्पनीबाट राजीनामा दिएका थिए । पत्नी सीता घिमिरे त्रितालका नामबाट इन्साइडर ट्रेडिङ गरेको खुलेपछि उनले अपी पावर कम्पनी र इन्हवा हाइड्रोपावरको सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएका थिए । अहिले धितो पत्र बोर्डका अध्यक्ष श्रेष्ठले अपी पावर कम्पनीबाट उनको फाइल मागेर अध्ययन गरिरहेका छन् ।

सञ्चालक समितिका रहेका बेला त्रितालले पत्नी सीताका नामबाट इन्साइडर ट्रेडिङ गरेर उनले धितोपत्र ऐन र धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को उल्लंघन गरेका थिए । उनले २०७७ कात्तिक २५ गतेबाट पत्नी सीताको नामबाट ४८ नम्बरको सेयर ब्रोकर कम्पनीबाट कारोबार सुरु गरेका थिए । स्रोतले उपलब्ध गराएको कागजातअनुसार २०७८ कात्तिक २ गतेसम्म उनले ९६ पटक कारोबार गरेका थिए । सो अवधिमा त्रितालले पत्नी सीताका नामबाट ११ हजार ६०० कित्ता सेयर खरिद गरेका थिए ।

खरिद गर्दा उनको ३७ लाख ८७ हजार ९३० रूपैयाँ लगानी भएको देखिएको छ। त्यसपछि उनले ३१ हजार ६२६ कित्ता सेयर बिक्री गरेका थिए। जसबाट १ करोड २१ लाख ६६ हजार ७०८ रुपैयाँ नाफा कमाएको स्रोतले उपलब्ध गराएको कागजातबाट खुलेको छ। जबकि अपी पावर कम्पनीले तत्कालीन समयमा कायम १ कित्ता सेयर बराबर नयाँ ०.३९ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी थियो ।

प्राप्त विवरणअनुसार कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने सूचना बाहिर आएपछि इन्साइडर ट्रेडिङ गरेको स्रोतको दाबी छ । कम्पनीले हकप्रद निष्कासनका लागि २०७८ चैतमा १४ गते सेयर दाखिला खारेजी (बुक क्लोज) गरेको थियो । यसअनुसार २०७८ चैत १३ सम्म नेप्सेमा कारोबार भई कायम त्यस कम्पनीका सेयरधनीहरूले मात्र उक्त हकप्रदमा आवेदन दिने प्रावधान थियो। त्यसअघि नै उनले इन्साइडर ट्रेडिङ गरेर कात्तिकमा कारोबार टुंग्याएको देखिन्छ। चैत २५ देखि सर्वसाधारणले हकप्रद सेयर लिएका थिए ।

यसैगरी अजोड इन्स्योरेन्सको सञ्चालक समितिको ८७औं बैठकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव साधारण सभामा पठाउने निर्णय गरेको थियो । तर कम्पनीको सञ्चालक समितिले उक्त प्रस्ताव गरेको बारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाइ जानकारी गराउनु अघि नै सेयर मूल्यमा ठूलो अंकको वृद्धि देखिएको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि नै अजोडको सेयर मूल्यमा १० प्रतिशतसम्म वृद्धि भएर कारोबारमा सकारात्मक सर्किट लागेको थियो । हकप्रद सेयर निस्कासन गर्ने विषय सार्वजनिक हुनुअघि नै कम्पनीको सेयर कारोबारमा अस्वाभाविक वृद्धि देखिएपछि इन्साइडर ट्रेडिङ भएको आशंका गरिएको थियो ।

सो विषयमा धितोपत्र बोर्डमा उजुरीसमेत परेपछि अनुसन्धानका लागि कार्यदल गठन गरिएको थियो । इन्साइडर ट्रेडिङ प्रकरणपछि राष्ट्रिय बीमा समितिले अजोडको हकप्रद सेयर रोक्न निर्देशन दिएको थियो । यसरी यी दुई कम्पनीलाई मात्र होइन बोर्डका अध्यक्षले अन्य उजुरीको विषयमा पनि अध्ययनको नाममा उन्मुक्ति दिने तयारी थालेको छ । यद्यपि अजोडको इन्साइडर ट्रेडिङको फाइल भने पाँच वर्ष पुरानो हो ।

प्रतिक्रिया दिनुहोस्