Logo
Logo

डिआइजीको बिदाइ एसएसपीको बढुवा तयारी


5.7k
Shares

काठमाडौं । सिसं १ पछि एसएसपी प्रवीण कँडेल पनि डिआइजीका दाबेदार हुन् । नेपाल प्रहरीबाट आएका कँडेल पनि यसपटक डिआइजीमा बढुवा हुने सम्भावना भने कम छ । सिसं २ बाट पहिलो नम्बरमा एसएसपीमा बढुवा भएका दिपेन्द्र कुँवर डिआइजी बन्ने सम्भावना बलियो देखिएको हो । कुँवरलाई डिआइजी बनाउनकै लागि सशस्त्र प्रहरीमा लामो समयदेखि डिआइजी बढुवा नगरी राखिएको हो ।

सशस्त्र प्रहरीमा एआइजीको दरबन्दी थप नगर्दा एक डिआइजीको अनिवार्य अवकाश हुँदैछ भने तीन एसएसपीहरु डिआइजीमा बढुवा हुँदैछन् । यही माघको २४ गते डिआइजीको पाँचवर्षे कार्यकाल पूरा डिआइजी किशोर प्रधान घर जान गएपछि तीन एसएसपीको बढुवा हुन लागेको हो ।

डिआइजी प्रधानको कार्यकाल सकिने भएपछि सशस्त्र प्रहरीमा डिआइजी बढुवाको जाम भएको छ । केही दिनअघि सशस्त्र प्रहरीले तल्लो तहका प्रहरी अधिकारीहरुको बढुवा खुलाएको भएपछि डिआइजीको बढुवा भने पाँच महिनादेखि हुनसकेको छैन । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त डिआइजीको बढुवा पाँच महिनादेखि रोकिराखेको छ । हाल दुई जनाको दरबन्दी रिक्त रहेकामा अझै एकजना डिआइजीको अवकाशपछि मात्रै एकसाथ तीनजना डिआइजीको बढुवा प्रक्रिया अगाडि बढाइने भएकोछ । खासगरी एसएसपी दीपेन्द्र कुँवरलाई पनि बढुवा गर्नेगरी गृहमन्त्रालयले बढुवा रोकेर राखेको स्रोतको दाबी छ ।

‘यही महिना डिआइजी प्रधानको अनिवार्य अवकाश हुने भएपछि रोकिएको हो’, स्रोतले भन्यो । उनको अवकाशपछि मात्रै डिआइजीमा बढुवा गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । बढुवा समितिको सिफारिसमा गृहमन्त्रीले डिआइजी बढुवाको निर्णय गर्ने व्यवस्था छ ।

माघ २४ गतेदेखि ९ नं पशुपतिनाथ बाहिनीका बाहिनीपति प्रधान अनिवार्य अवकाश हुनेछन् । उनी डिआइजीमा थपिएको एक वर्षे पदावधि पनि पूरा गरेर अवकाश हुन लागेका हुन् । गत वर्ष माघ २३ मै चार वर्षे पदावधि पूरा भए पनि प्रधानको एक वर्ष पदावधि थप गरिएको थियो ।

माघ २३ गतेसम्ममा अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुने सम्भावना नभएकाले उनी अवकाश हुन लागेका हुन् । उनको अवकाशपछि मात्रै तीनजना डिआइजीको बढुवा हुनेछ । गत भदौ १६ गतेदेखि नै सशस्त्र प्रहरीमा दुईजना डिआइजीको दरबन्दी रिक्त भएको थियो । तर रिक्त भएको झण्डै ५ महिनासम्म बढुवा नगरी राखिएको छ ।

डिआइजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएका थिए ।
डिआइजी र एआइजीको दरबन्दी थप गर्ने प्रयास भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि रोकिएको थियो । सशस्त्र प्रहरीमा एकजना डिआइजी र एकजना एआइजी थपका लागि प्रस्ताव गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एकसाथ दरबन्दी थपको प्रस्ताव भए पनि अर्थ मन्त्रालयले दुवै प्रहरीमा तत्काल दरबन्दी थप गर्न स्वीकृति दिएन । दरबन्दी थप गर्ने प्रयास असफल भएपछि नेपाल प्रहरीमा भने धमाधम बढुवा गरिएको छ । रिक्त हुने तीन पदमा सशस्त्र प्रहरीमा भर्ना भएको पहिलो ब्याचबाट दुईजना र दोस्रो ब्याचबाट एकजनालाई बढुवा गर्ने तयारी छ ।

प्रतिस्पर्धामा भने अरु एसएसपी पनि देखिएका छन् । नेपाल प्रहरीको प्राविधिकबाट आएका कृष्णराज पाठक सबैभन्दा सिनियर एसएसपी हुन् । तर उनलाई यसपटक पनि बढुवा गर्ने सम्भावना कम छ । यसअघि पनि बढुवामा छुट्दै आएका पाठक सशस्त्र प्रहरीको पहिलो ब्याच (सिसं १) भन्दा अगाडिका एसएसपी हुन् । सिसं १ का मनिष थापा र कृष्ण ढकाल डिआइजीमा बढुवा हुनेछन् । उनीहरूकै ब्याची पाँचजना डिआइजीमा बढुवा भइसकेका छन् ।

डिआइजी सुरेश श्रेष्ठ, अन्जनी पोख्रेल, दिपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी उनीहरूकै ब्याची हुन् । एसएसपी थापा र ढकालले पनि स्टाफ कलेज गरिसकेका छन् । सशस्त्रमै भर्ना भएको टोलीका लागि डिआइजी बन्न स्टाफ कलेज अनिवार्य छ । यसअघि तीनपटकमा स्टाफ कलेज पास गरिसकेको हुनु पर्ने व्यवस्था थियो । तर एसएसपी ढकालले तीनपटकमा पनि स्टाफ कलेज पास नगरेपछि उनकै लागि व्यवस्था नै परिवर्तन गरेर ५ पटकसम्म स्टाफ कलेज दिन पाउने व्यवस्था मिलाइएको थियो ।

सिसं २ कै विष्णु भट्ट, दिग्विजय सुवेदी लगायत पनि डिआइजीका प्रतिस्पर्धी हुन् । तर कुँवरका अगाडी उनीहरुको प्रतिस्पर्धा कमजोर देखिएको छ । भट्ट र सुवेदीलाई भने कमल गिरी, गणेश ठाडामगर लगायतलाई बढुवा हुन नदिनेका लागि दौडधुप गरेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्