काठमाडौं । संविधान संशोधनलाई मुख्य मुद्दा बनाएर प्रतिनिधिसभाका दुई ठूला दल मिलेर बनेको सरकारमा सहभागी मन्त्रीहरु असन्तुष्ट भैरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सन्तुष्ट देखिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षाकृत काम गर्न नसकेको जनगुनासो बढिरहेका बेला कांग्रेसका मन्त्रीहरु पनि सन्तुष्ट देखिदैनन तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एमालेबीच कुनै असमझदारी नभएको भनेर मन्त्रीलाई खुरुखुरु काम गर्न निर्देशन दिएका छन् ।
पार्टीको प्रतिनिधित्व गरेर सरकारमा सामेल मन्त्रीहरुलाई आफ्नै निवास बूढानिलकण्ठमा बोलाएर उनले यस्तो निर्देशन दिए । देउवासँगको छलफलमा मन्त्रीहरुले विभिन्न कारणले सोचेजस्तो काम गर्न नसकिएको ब्रिफिङ गरेका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयले सोचेअनुसारको काममा तीब्रता दिन नसकेको गुनासो गरेका थिए । प्रकाशमानसिंह श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी भएको कांग्रेसमा मन्त्रीहरुले देउवा कम बोल्दा ओलीले पेलेको गुनासो गरेका थिए ।
त्यसक्रममा देउवाले सबै तहका पार्टी कमिटीमार्फत केन्द्रीय कार्यालयमा प्राप्त नागरिकका सुझाव र मागहरुका सन्दर्भमा महिनामा एक पटक फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्ने र र उपयुक्त सुझाव कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए ।
मन्त्रीहरुले सांसदहरुका सल्लाह, सुझाव र जनताका अपेक्षालाई विशेष ध्यानमा राखी काम अघि बढाउन संसदीय दलसँग समन्वय गर्नपनि निर्देशन दिएका थिए । चालू आर्थिक वर्षको बजेट तथा वार्षिक विकास कार्यक्रममा समावेश भएका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेण्डर हुन नसकेका, निर्माण सुरु भएका तर अपेक्षित गतिमा काम नभएका विकास योजनाहरु निर्धारित समयमा सम्पन्न गर्न आवश्यक पहलकदमीका लागि पनि मन्त्रीहरुलाई देउवाले निर्देशन दिएका छन् ।
देउवाले कुनै एक सन्दर्भमा काम नगर्ने मन्त्रीहरुलाई हटाउने चेतावनी पनि दिएका थिए । देउवाले पार्टीबाट अहिलेको सरकारमा सहभागी मन्त्रीहरुलाई नैतिक आचरणमा रहेर कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।
बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार देउवाले भ्रष्टाचार गरेको थाहा पाए कोहीपनि मन्त्रीहरुलाई बाँकी नराख्ने चेतावनी दिएका थिए । सो क्रममा उनले अबको एक महिनाभित्रै कार्यसम्पादन रिपोर्ट आफूलाई बुझाउन पनि भनेका छन् ।
देउवाले अहिलेको सत्ता–सहकार्यमा एमालेसँग कुनै मतभेद नभएको भन्दै त्यहीअनुसार प्रस्तुत हुनपनि मन्त्रीहरुलाई भनेका छन् । उनको भनाई उद्धृत गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले भने,‘सभापतिज्यूले अहिले सरकारमा मतभेद छैन भनेर भन्नुभएको छ । उहाँले हामीलाई प्रधानमन्त्रीले भनेको मान्ने र प्रधानमन्त्रीलाई सहयोग गर्न भन्नुभएको छ ।’
सभापति देउवाले अहिले आएका विभिन्न पाँच अध्यादेशआफ्नै सहमतिमा आएको पनि जिकिर गरेका छन् । उनले आफू र प्रधानमन्त्री ओलीबीच कुनै असहमति नभएकोपनि स्पष्ट पारेका थिए ।