Logo
Logo

आफूहरूमाथि भइरहेको धरपकड  अन्त्यका लागि पहल गरिदिन  कवाडी व्यवसायीको माग 


630
Shares

काठमाडौं । कवाडी व्यवसायी समाज नेपालले शान्तिपूर्ण रूपमा आफ्नो पेशाव्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई आज ज्ञापन पत्र बुझाउँदै उनीहरूले आफूहरूमाथि भइरहेको धरपकड अन्त्य गर्नका लागि पहल गरिदिन आग्रह गरेका छन् । 

कवाडी व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाडी व्यवसायीले जसपा अध्यक्ष यादवलाई ज्ञापनपत्र बुझाएको हो । उनीहरूले आफूहरूलाई पेशाव्यवसायबाट धपाउन खोजिएको बताउँदै सरकारको तर्फबाट शान्ति, सुरक्षाको व्यवस्था गराउनमा पहल गरिदिन आग्रह गरेका छन् ।

कवाडी व्यवसायीहरूसँग जसपा अध्यक्ष यादवले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले सरकारसँग समन्वय गरेर शान्ति, सुरक्षाका लागि पहल गर्ने र कवाडी व्यवसायीको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन् । 

‘काठमाडौं महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर महानगरपालिकाले कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ । कवाडी व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ’ कवाडी व्यवसाय समाजले यादवलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

काठमाडौं महानगरपालिकाले कानुन विपरीत आफूहरूलाई दुख दिने, तोडफोड गर्ने र व्यवसायबाट धपाउन खोजेको अध्यक्ष गुप्ताले जनाएका छन् । यस अघि समितिले काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई समेत एक ज्ञापन पत्र बुझाउँदै शान्ति, सुरक्षाको माग गरेको थियो । 

काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कानुन विपरीत कवाडी व्यवसायीलाई दुख दिने र अराजक गतिविधि गर्दै डोजरले घर पनि भत्काउने गरेकाले उनीहरूले शान्ति सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । 

समितिका अध्यक्ष गुप्ताको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा कवाडी व्यवसायीका नेताहरू गोपाल जयसवाल, रविशंकर प्रसाद, नारायण गुप्ता, विजय गुप्ता, श्याम यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्