काठमाडौं । विश्व चर्चित विद्युतीय गाडी उत्पादक कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पुराना गाडीसँग नयाँ गाडी साट्न सकिने योजना ल्याएको छ ।
बीवाईडी गाडीको लोकप्रियता बढ्दै गएपछि पुराना गाडीसँग बीवाईडीका नयाँ गाडी एक्सचेन्ज योजना ल्याएको साइमेक्सले जनाएको छ । ‘एक्सचेन्ज फेष्टा’ नाम दिइएको यो योजना देशभर पाँच दिनका लागि सञ्चालन गरिएको साइमेक्सले जनाएको छ ।
यो फेस्ट माघ ९ गते (आजदेखि) १३ गतेसम्म चल्ने यो एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग नयाँ ब्रान्ड विद्युतीय गाडी लिन सक्नेछन् ।
यसरी एक्सचेन्ज गर्दा ग्राहकलाई कम्पनीले उत्कृष्ट मूल्यांकन, बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसरिज र चार्जरसमेत प्रदान गर्ने जनाएको क्मपनीले छ । यो कार्यक्रम काठमाडौं, बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा आयोजना हुने कम्पनीले जानकारी दिएको छ । उपत्यका बाहिर आज (बुधबार)देखि नै एक्सचेन्ज योजना सुरु भएको साइमेक्स इन्ककी प्रशंसा श्रेष्ठले दृष्टिन्यूजसँग बताइन् ।
उनका अनुसार उपत्यकामा भने यो योजना बिहीबारदेखि (भोलि)देखि सुरु हुने छ । ‘उपत्यकामा काठमाडौंको नक्सालस्थित अम्रपाली ब्यांकेटमा एक्सचेन्ज फेष्ट सञ्चालन हुनेछ’ उनले भनिन् । भने ललितपुर र भक्तपुरमा पनि यो योजना सञ्चालन हुने साइमेक्सले जनाएको छ ।
बीवाईडी नेपाली बजारमा सर्बाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो– ३, डल्फिन र एम–६ मोडल निकै लोकप्रिय छ । बिक्री पछिको सेवा र चार्जिङ पूर्वाधारको विकासमा साइमेक्स इंकले पु–याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभी पारखीको जमात निकै ठूलो छ । सन् २०२४ मा बीवाईडीले विश्वमै सबैभन्दा धेरै गाडी बिक्री गरेर रेकर्ड राखेको थियो ।
कम्पनीका अनुसार एक्सचेञ्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो–३, डल्फिन र एम–६ जस्ता चर्चित एवं लोकप्रिय ईभी एक्सचेञ्ज गर्नसक्ने छन् ।