काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा जनताले अहिले आएर बुझेको बताएका छन् ।
बुधवार कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा उनले एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै अहिले सर्वसाधारणले सही रहेछ भन्ने कुरा बुझेको बताए । उनले पास गराउने बेलामा धेरै ठूलो विरोध भएपनि अहिले आएर साँच्चिकै राम्रो रहेछ भनेर सबैले थाहा पाएको बताए ।
उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताए।
‘एकपटक एमसीसी पास गर्ने बेलामा, एमसिसी सहीछाप गर्ने बेलामा धेरै ठूलो विरोध भयो। पार्ल्यामेण्टबाट पास गराउन पनि धेरै गाह्रो भयो‚’ सभापति देउवाले भने, ‘अहिले सबैलाई थाहा भयो कि त्यो साँच्चिकै राम्रो रहेछ भनेर। यसले नेपाललाई फाइदै गरेको छ, हानि गरेको छैन भनेर। यो ग्राण्टमा आएको हो, ऋणमा आएको होइन। त्यसले अहिले फाइदा गरिरहेको छ भन्ने कुरा सबैले देखे।’
सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताए।